११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

कुखुरामा गम्बोरो रोगको समस्या

६ मङ्सिर, चितवन । व्यावसायीक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या देखिएको छ । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गम्बारो रोगको समस्या लिएर किसानहरु आउनेको सङ्ख्या बढेको छ ।

कार्यालयका सूचना अधिकारी इन्दु राय यादवका अनुसार दैनिक १२ देखि १५ वटा कुखुराको परीक्षणका क्रममा ४÷५ वटामा गम्बोरो रोगको सङ्क्रमण भेटिने गरेको छ । उहाँले भन्नुभयो, “यो रोग तीव्र गतिमा सर्ने रोग हो । यसलाई इन्फेक्सियस बर्सल डिजिज भन्ने गरिन्छ ।”

कुखुरामा यो रोग देखिएमा कुखुराहरु झोक्राउने र मर्ने गर्छन् । यस्तै शरीर काप्ने, प्वाँख गुजमुजिए जस्तो हुने, श्वास बढ्ने, दानापानी नखाने, सेतो पहेंलो छेर्ने, ज्वरो आउने लम्पसार पर्ने जस्ता लक्ष्यणहरु देखिने यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग लागेमा २ देखि २० प्रतिशत कुराहरु मर्छन् भने कहिलेकाही ६७ प्रतिशतसम्म मर्ने गरेको पाइएको छ ।

रोग लाग्न नदीनका लागि गम्बोरोविरुद्धको खोप लगाउने, जैविक सुरक्षाका विधिहरु अबलम्बन गर्ने, इम्युनिटी पावर बढाउन कुखुरालाई भिटामिन तथा औषधिको प्रयोग गर्ने, ज्वरो कम गर्ने तथा तनाव कम गर्ने औषधिको प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

कतिपय स्थानमा भ्याक्सिन लगाइ सकिएका कुखुरामा समेत यो रोगको सङ्क्रमण देखिएपछि अहिले थप अनुसन्धान विभागले गरिरहेको उहाँले बताउनुभयो । यस रोग लाग्न नदिनका लागि खोरमा काम गर्न जानुभन्दा अघि जैविक सुरक्षाका साधनहरुको प्रयोग गर्न जरुरी रहने उहाँको भनाइ छ ।

कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनामा नौ सय २३ कुखुरामा रोगको पहिचान गरिएको यादवको भनाइ छ । उहाँका अनुसार कुखुरामा व्याक्टेरियल इन्फेक्सन (इ।कोलाई), साल्मोनेला रुघाखोकी लगायतको समस्या देखिएका छन् । खोरको सरसफाई र दानापानीमा राम्रोसँग निगरानी नगर्दा यस्तो रोग लाग्ने गरेको उहाँको भनाइ छ । यहाँ, चितवनसहित मकवानपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङलगायतका २० जिल्लाबाट पन्छी रोगको अन्वेषणका लागि किसानहरु आउने गर्दछन् ।

वार्षिक रुपमा छ देखि आठ हजार कुखुराको पोष्टमार्टम रगत, श्वास परीक्षण तीन हजारभन्दा बढीको गरिँदै आइएको छ । एक वर्षदेखि रोकिएको कुखुराको पिसिआर परीक्षण यसै वर्षबाट पुनः सञ्चालन गरिने पनि उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनापछि रोकिएको पन्छीको पिसिआर परीक्षण यस वर्षदेखि पुनः सुरु गरिएको छ ।”

प्रकाशित मिति : November 21, 2024 at 5:34 pm