२८ मंसिर २०८२, आईतवार | Mon Dec 15 2025

दीर्घकालीन सोचका साथ सीटीईभीटीको पुन:संरचना गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड

३ मङ्सिर, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको बताउनुभएको छ ।

परिषद् पुनःसंरचनासम्बन्धी उच्चस्तरीय कार्य टोलीद्वारा आज यहाँ आयोजित ‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनः संचरनाः प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया’ मा उहाँले परिषद्ले वर्तमान आवश्यकतालाई ध्यानमा राखेर आफ्ना कार्यक्रम विविधिकरण गर्नुपर्ने सुझाव दिनुभयो ।

मुख्यमन्त्री कार्कीले तीन तहको सरकारबीच समन्वय कायम गरी आगामी ५० वर्षको लक्ष्य लिएर सोहीअनुसार परिषद् पुनः संरचना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेशमा धार्मिक पर्यटन क्षेत्रको विकासबाट दुई छिमेकी मुलुकका पर्यटकको आवागमन वृद्धि भई विदेशी मुद्रा आर्जन गर्न सक्ने हुनाले परिषद्ले यससम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमख नागेश कोइरालाले स्थानीय पालिकासँग समन्वय कायम गरी परिषद्ले तालिम दिनुपर्ने सुझाव दिनुभयो । नेपाल नगरपालिका सङ्घ कोशीका अध्यक्ष दिलप्रसाद राई र दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक शिक्षालाई श्रम र उद्योग मन्त्रालयसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

परिषद्का सदस्य सचिव ई मोहन भट्टराईले व्यावसायिक शिक्षाको विस्तार उद्योग वृद्धिको आधारमा हुनु जरुरी रहेको धारणा राख्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले परिषद्को विकेन्द्रीकरण गरी प्रदेश सरकारको नेतृत्वमा परिषद् सञ्चालन गरेमा सङ्घीयताको सफल कार्यान्वय हुने सुझाव दिनुभयो ।

प्राविधिक परिषद् पुनः संरचना उच्चस्तरीय कार्य टोलीकी संयोजक गीता पौडेल अधिकारीले प्रदेशमा प्राविधिक र व्यावसायिक तालिमको स्तरोवद्धि गर्न नागरिक शिक्षा, वैज्ञानिक, रोजगार मुलुक र राष्ट्रका लागि दक्ष जनशक्ति तयार गर्ने आवश्यक सुझाव सङ्कलन गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार १७:४४