१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

२९ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकशमान सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिनुभएको छ । आज यहाँ नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उहाँले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न निजी क्षेत्रसँग आग्रह गर्नुभयो ।

“नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ । अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ”, उपप्रधानमन्त्री सिंहले भन्नुभयो ।

उपप्रधानमन्त्री सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान सरकारले योजनाबद्ध रूपमा काम गरिररहेको जानकारी दिँदै उद्योग वाणिज्य सङ्घ तथा निजी क्षेत्रका संस्थाहरुले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्षेत्रले उठाएका कुरालाई सरकारले सकाात्मक रूपमा लिएको छ ।”

भृकुटीमण्डपमा आजदेखि सुरु भएको ‘फिन इलेक्ट्रो टेक’ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि, विद्युतीय तथा वैकल्पिक ऊर्जा क्षेत्रका उद्यमीलाई एउटै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिका बारेमा सूचना आदानप्रदान गरिने छ ।

प्रकाशित मिति : November 14, 2024 at 6:38 pm