२७ मंसिर २०८१, बिहीबार | Thu Dec 12 2024

‘पूर्ण बहादुरको सारङ्गी’ बन्यो सबैभन्दा बढी कमाउने नेपाली फिल्म

२९ कात्तिक, काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । निर्माता विनोद पौडेलले चलचित्रले प्रदर्शनको १४औँ दिनसम्म आइपुग्दा रु २७ करोड सङ्कलन गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।”

उहाँले चलचित्रले मङ्गलबारसम्म रु २५ करोड तीन लाख र बुधबार रु दुई करोडको हाराहारीमा व्यापार गरेको बताउनुभयो । नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । निर्माता पौडेलले आजदेखि पूर्वबाट सुरु हुने भ्रमणमा मोफसलका चलचित्र भवनमा पुगेर दर्शकलाई धन्यवाद व्यक्त गर्ने जानकारी दिनुभयो ।

“हामी गाईघाटबाट भ्रमण सुरु गर्दैछौँ, ग्रामीण भेगका चलचित्र भवनमा पुगेर त्यहाँका दर्शकलाई धन्यवाद दिनेछौँ, उहाँहरुको मायाले हामी मात्र नभइ नयाँ निर्मातालाई पनि हौसला मिलेको छ”, निर्माता पौडेलले भन्नुभयो ।

उक्त भ्रमणमा निर्माता पौडेलसँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत हुनुहुन्छ । यो चलचित्रले एकै दिन रु तीन करोड ८९ लाखको व्यापार गर्दै एक दिनमा सर्वाधिक कमाउने नेपाली चलचित्र र ९८ चलचित्र भवनमा चार सय ६५ भन्दा बढी सो पाएको रेकर्डसमेत बनाएको छ । यसअगाडि चलचित्र ‘कबड्डी ४ः द फाइनल म्याच’ ले रु २३ करोड ५० लाखको व्यापार गरेको बताइएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार १३:१८