२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

माओवादीलाई लक्ष्य गर्दै प्रधानमन्त्रीले भने: विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो

२७ कात्तिक, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलवार १०:०३