१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

केराखेतीबाट वार्षिक आठ लाखबढी आम्दानी गर्दै

२४ कात्तिक, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्ट विसं २०७७ देखि कृषि पेसामा लाग्नुभएको छ ।

व्यावसायिक रूपमा कृषि क्षेत्रमा लाग्नुभएका उहाँले अहिले केरा बिक्रीबाट वार्षिक रु आठ लाखभन्दा बढी आम्दानी गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “१७ वर्ष नेपाल प्रहरीको सेवापछि घर फर्किए, अरु व्यापार व्यवसायबाट खासै कमाइ नहुने देखिएपछि कृषि पेसामा लागेको हुँ, डेढ बिघा क्षेत्रफलमा केराखेती सुरु गरेर अहिले वार्षिक रुपमा रु आठ लाख बढी आम्दानी हुन्छ, मासिक ८०, ९० घरीसम्म केरा बिक्री हुने गरेको छ ।”

केरा बिक्रीका लागि धेरैजसो चक्रघटी, कालाबन्जर, चतरा लगायतका स्थानीय बजार तथा इटहरी, धरान, गाइघाटसम्म पनि पठाउने गरेको लैजाने गरेको उहाँ बताउनुहुन्छ । एक घरी केरा रु ४०० देखि ६०० सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

सुरुमा धान, मकै, कोदोको खेती गर्ने उहाँ पछिल्लो समय केराखेती तिर आकर्षित भएको विष्टले बताउनुभयो । अहिले उहाँले भएको सबै आप्mनो जग्गामा केरा, खर्बुजा, भुइँकटहर, दाल, बोडी, सयपत्री फुल र तोरी लगाउनुभएको छ ।

उहाँले भन्नुभयो, “कृषि पेसामा सुरुमा केहि दुःख गर्नुपरे पनि पछि आरामले कमाइ गर्न सकिन्छ, कृषि पेसा भनेको आफैँ मालिक आफैँ कर्मचारी हो, घरमा कहिलेकाही घर खर्च तार्न खाँचो हुँदा अरुसँग ऋण माग्न जानुपर्दैन, तीन÷चार घरी केरा बजार लगेर बेच्दा घर खर्च मज्जाले टार्न सकिन्छ ।” उहाँले अहिले मालभोक, चिनियाँ चम्पा र कृष्णभोग गरी तीन किसिमका केरा लगााउनुभएको छ ।

सुनसरीमा हाल पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनसरीमा केराखेतीको उत्पादन राम्रै छ, तर गत असोजमा आएको बाढीले ३८ दशमलव २५ हेक्टरभन्दा बढी केराखेती नष्ट गर्दा रु ३७ लाख बढीको क्षति भएको छ ।”

पछिल्लो समय केराखेतीबाट राम्रो आम्दानीसँगै उत्पादन राम्रो हुन थालेपछि यहाँका किसानले धेरै जसो केराखेती गर्न थालेको सूचना अधिकृत श्रेष्ठको भनाइ छ । कृषि ज्ञान केन्द्रका अनुसार अहिले सुनसरीमा झप्री, मालभोक, मुङ्गे, मर्चे चिनियाँ चम्पा, कृष्णभोग, हाइब्रिड प्रजातिका केरा अत्यधिक उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति : November 9, 2024 at 5:43 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/