१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन छठ महत्वपूर्ण छ: अध्यक्ष नेपाल

२२ कात्तिक, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।

छठ पर्वका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले विविधतायुक्त नेपाली समाजका प्रत्येक समुदायका मौलिक, धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सबै समुदायका संस्कृति तथा चाडपर्वले एकापसमा सामाजिक सद्भाव, सांस्कृतिक सद्भाव साथै राष्ट्रिय एकता मजबुत बनाउन भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सन्देशमा उहाँले समुदायस्तरबाट आफ्ना भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षणले देशलाई मौलिक सभ्यता र संस्कृतिमा सम्पन्न बनाउने विचार व्यक्त गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सामाजिक विशेषताले देशको पहिचान र परम्परालाई विश्वमा चिनाउन सहयोग पुग्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : November 7, 2024 at 10:13 am