२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

नेपालगन्जमा डेङ्गु सङ्क्रमणको जोखिम उच्च

१५ कात्तिक, बाँके । नेपालगन्ज उपमहानगरपालिका डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ । बाँके जिल्लामा हालसम्म डेङ्गु सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

“नेपालगन्ज डेङ्गु रोग सङ्क्रमणको उच्च जोखिममा रहेकाले रोकथामका लागि अभियान सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “उपमहानगरका सबै वडामा लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने कार्य भइरहेको छ ।”

नेपालगन्ज उपमहानगरपालिका–४ बसपार्क क्षेत्रबाट डेङ्गु तथा कीटजन्य रोग सार्ने लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उहाँको भनाइ छ । उपमहानगरका २३ वटै वडामा अभियान सञ्चालन गरिने भएको छ । अभियानअन्तर्गत लामखुट्टेको बासस्थान हुने पानी जमेको टायर, खाल्डाखुल्डी सरसफाइ गरी लार्भाको नष्ट गर्ने कार्य गरिने चन्दले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियानको सुरुआत गरेको उल्लेख गर्दै यो अभियानमा साथ र सहयोगका लागि नगरवासीलाई समेत अनुरोध गर्नुभयो । नेपालगन्ज बसपार्क क्षेत्र डेङ्गु रोग सङ्क्रमणको केन्द्रविन्दु हुनसक्ने भएकाले अभियानको सुरुआत बसपार्कबाटै गरिएको नगरप्रमुख बिष्टले बताउनुभयो । बसपार्क क्षेत्रमा रहेका ग्यारेज, यातायात व्यवसायी र मजदुरहरुलाई प्रयागविहीन भएका टायर जथाभावी नछोड्न उहाँले अनुरोध गर्नुभयो । डेङ्गु रोग सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउनाका साथै सो बारेमा समुदायमा सचेतना फैलाउने काम पनि भइरहेको नगरप्रमुख बिष्टले बताउनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०८१, बिहीबार १४:४१