४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

१३ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका छन् ।

विन्जेल तल्लागाउँका डिल्लीराम नेपाल गत एक वर्षमा १२ हजार ५१७ लिटर दुध बेचेर रु आठ लाख १२ हजार ४५५ कमाउन सफल हुनुभएको छ । सोही टोलका ताराप्रसाद नेपाल संस्थामा धेरै दूध बेच्नेमध्ये दोस्रो नम्बरका किसान हुनुहुन्छ । उहाँले एक वर्षमा नौ हजार ८९६ लिटर दूध बिक्री गरेर रु छ लाख १६ हजार ३२० कमाउन सफल हुनुभएको छ ।

तोयानाथ नेपाल र रवीन्द्रबहादुर नेपाल पनि संस्थामा धेरै दूध बेच्चे किसानमा पर्नुहुन्छ । तोयानाथले एक वर्षमा आठ हजार ५४० लिटर दूध बेचेर रु पाँच लाख ४८ हजार ४४३ कमाउनुभएको छभने रवीन्द्रले आठ हजार एकसय ४७ लिटर दूध बेचेर रु पाँच लाख १३ हजार ७०० हात पार्नुभएको छ ।

एकै गाउँमा दुग्ध पदार्थ उत्पादन गर्ने जिल्लाकै उत्कृष्ट मानिएको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाबाट गत आवमा तीन लाख ७९ हजार १६१ लिटर दूध बेचेर रु दुई करोड ८९ लाख ७८ हजार गाउँमा भित्रिएको अध्यक्ष यदुनाथ नेपालले जानकारी दिनुभयो ।

चार सय ४८ शेयर सदस्य रहेको संस्थाले नियमितरुपमा बचत तथा ऋण कार्यक्रम सञ्चालन गरिरहेको छ । संस्थामा रु एक करोड २३ लाख १० हजार बचत तथा एक करोड एक लाख ४७ हजार ऋण लगानी गरिएको संस्थाका व्यवस्थापक द्वारिका नेपाल बताउनुहुन्छ ।

प्रकाशित मिति : 13:00