१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै

१३ कात्तिक, बझाङ । बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ ।

सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा भेटिएका छन् । तथ्याङ्कानुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार जयपृथ्वी नगरपालिकामा आठ, मष्टामा तीन, खप्तडछान्नामा तीन, तलकोटमा दुई जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेको उहाँले बताउनुभयो । “जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन्”, उहाँले भन्नुभयो, “कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहनुभएको छ ।”

तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिनुभयो ।

परियोजना संयोजक लोकेन्द्र पन्तले सङ्क्रमित भएका बिरामीको नियमित उपचारका साथै सीमान्तकृत समुदायका व्यक्तिलाई संस्थाले सहयोग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समुदायमा पछाडि परेका, पारिएका, भूमिहीन वर्ग, बालबालिका, दलित, जनजाति महिला÷पुरुषलाई शैक्षिक, सामाजिक र आर्थिक रूपमा समान अवसर दिलाइ क्षमता अभिवृद्धि तथा अन्य सामाजिक सुधारात्मक कार्यमा सुधार ल्याउने लक्ष्यका साथ काम गरिरहेका छौँ ।”

उहाँले जिल्लामा कार्यक्रम लागू भएका पालिका तथा समुदायमा एचआइभी जाँच, यौन शिक्षा, क्षयरोग स्क्रिनिङ र अस्थायी साधन वितरण गर्दै आएको बताउनुभयो ।

प्रकाशित मिति : October 29, 2024 at 11:15 am