१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

चिसो मौसम बढे पनि तनहुँमा डेङ्गी सङ्क्रमण घटेन

१२ कात्तिक, तनहुँ । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि नियन्त्रणका लागि चेतना जगाउन सदरमुकाम दमौलीमा आजदेखि घरदैलो अभियान सुरु गरिएको छ । चिसो मौसम बढ्दै जाँदा पनि डेङ्गी सङ्क्रमण नघटेपछि व्यास नगरपालिका स्वास्थ्य शाखाले बजार क्षेत्रमा घरदैलो अभियान सुरु गरेको हो ।

डेङ्गी नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यसहित घरदैलो अभियान सुरु गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तनहुँमा सबैभन्दा बढी व्यास नगरपालिकामा डेङ्गी सङ्क्रमित छन् । नियन्त्रण गर्न घरदैलो अभियान सुरु गरिएको हो ।”

प्रमुख सोतीका अनुसार डेङ्गी नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजौँ र नष्ट गरौँ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “लामखुट्टेको बासस्थान खोजेर र नष्ट गर्न सक्यौँ भने यसको नियन्त्रण गर्न सकिन्छ । लामखुट्टेले बासस्थान बनाउन सक्ने सम्भावित ठाउँको पहिचान गरी त्यस्ता ठाउँको नष्ट गर्छाँै ।”

दमौली बजारमा डेङ्गी सङ्क्रमित थपिने क्रम बढ्दो अवस्थामा रहेकाले चेतना जगाउन अभियान सञ्चालन गर्न आवश्यक भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । जिल्लाभर चार हजार सात सय ११ डेङ्गी सङ्क्रमित रहेकामा व्यास नगरपालिकामा मात्रै एक हजार सात सय १५ छन् । यस्तै शुक्लागण्डकी नगरपालिकामा आठ सय २०, भिमाद नगरपालिकामा ८३, भानु नगरपालिकामा ४४, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा एक सय ८६, आँबुखैरेनी गाउँपालिकामा एक हजार ६ सय ९८, ऋषिङ गाउँपालिकामा चार, घिरिङ गाउँपालिकामा ६, देवघाट गाउँपालिकामा ८० र अन्य जिल्ला घर भएका ३० जनामा डेङ्गी सङ्क्रमण भएको छ ।

दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालका अनुसार बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, खाना खान रुची नलाग्नु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनुलगायत डेङ्गीका लक्षण हुन् । डा बरालका अनुसार पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हम जस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्नु यसबाट बच्ने प्रमुख उपाय हुन् ।

प्रकाशित मिति : October 28, 2024 at 1:42 pm