४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

गोदावरी पुष्पमेलामा तीन दिनमा ९० लाखको कारोबार

११ कात्तिक, ललितपुर । ललितपुरको जावलाखेल मैदानमा जारी १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म रु ९० लाखको कारोबार भएको छ ।

प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् । पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो ।

दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा रु ५० लाख बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।

उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको संयोजक तामाङ बताउनुहुन्छ । नेपालमा हाल ५२ जिल्लामा दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी भएको छ । यस व्यवसायमा एक हजार एक सयभन्दा बढी व्यवसायी संलग्न छन् ।

प्रकाशित मिति : 07:35