२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

२९ असोज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरी सम्बन्धी विधेयक पारित गर्ने लक्ष्य रहेको बताउनुभएको छ । मङ्गलवार नक्सालमा ६९ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उक्त कार्यक्रममा गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गर्नु भएका र घाइते भएका प्रहरी कर्मचारीहरूको योगदानको उच्च मूल्याङ्कन गर्न हुने बताउनुभयो ।

उहाँले भन्नुभयो-‘वर्तमान सरकार गठन भएपछि संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई पूर्णता दिइएको छ । र सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता भएका व्यक्तिको छानविन सम्बन्धी कानुन बनेको छ । ‘यसले द्धन्द्धको बेलामा मुत्युवरण गर्ने सुरक्षा निकायका व्यक्तिहरुको परिवारलाई पनि पीडित सरह परिपूर्ण दिने व्यवस्था गरिएको छ ।

द्धन्द्धको बेला घाइते र अपाङ्ग भएका सुरक्षा निकायका व्यक्तिलाई पीडित सरह व्यवहार गरिने पनि उहाँले बताउनुभयो ।

साथै सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नुपर्ने भएकाले सुरक्षा निकायलाई थप सतर्कताका साथ काम गर्न समेत गृहमन्त्री लेखकले निर्देशन दिनुभयो ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलवार १३:२१