९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

१८ असोज, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिनुभएको छ । उहाँले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो ।

सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई आज सिंहदरबारस्थित मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो । अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्यवृद्धिको अवस्था आएको मन्त्री भण्डारी समक्ष जानकारी गराउनुभयो ।

मन्त्री भण्डारीले विपद् र चाडपर्वका बेला मूल्य वृद्धि गर्न नहुने उल्लेख गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित बैठक बसेर उपभोक्तालाई मर्का नपर्ने गरेर समाधान निकाल्न निर्देशन दिनुभयो ।

सो क्रममा सङ्घका अध्यक्ष दुगड, पूर्वअध्यक्ष सन्दीप अग्रवाललगायतले खानेतेल उत्पादक उद्योगीले वाणिज्य मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिधै खरिद गरेर बिक्री गर्दा उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा खानेतेल खरिद गर्न पाउने बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अध्यक्ष रमेश आचार्यले उद्योगबाट सिधै तेल खरिद गरेर उपभोक्ताले सस्तोमा पाउने भएकाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराउनुभयो ।

यसैबीच सोही क्रममा नेपाल चामल तेल उत्पादक सङ्घका विभोर अग्रवालले विगतको तुलनामा चामलको मूल्य कम रहेको र चाडपर्वका बेला चामल तथा दालको मूल्य वृद्धि नहुने जानकारी दिनुभयो । उहाँले तिहारपछि भारतले निर्यात शुल्क १० प्रतिशत वृद्धि गर्न लागेकाले वाणिज्य मन्त्रालयले पहल गरे त्यो हट्ने र मूल्य वृद्धि नहुने बताउनुभयो ।

विपद् पीडितलाई राहत

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घ र नेपाल चामल तेल उत्पादक सङ्घले मन्त्री भण्डारीको आग्रहमा विपद्का कारण पीडित भएका सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराएको छ । दुवै सङ्घले आज ललितपुरलगायत विभिन्न ठाउँका सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराएको हो । नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले चामल तीन सय ६० बोरा, चिउरा एक सय बोरा, मसूर दाल ४० बोरा र तोरीको तेल दुई सय लिटर उपलब्ध गराएको छ ।

यस्तै नेपाल चामल तेल उत्पादक सङ्घले चामल एक सय ४० बोरा र मसुरको दाल ४० बोरा उपलब्ध गराएको छ । यसैबीच दुवै सङ्घले नागरिकमा पर्न गएको ठूलो विपत्ति तथा जनधनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको समयमा विपत्तिमा पर्न गएका व्यक्ति र परिवारमा केही भए पनि राहत प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति : October 4, 2024 at 5:28 pm