१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नयाँ शैलीमा काम गर्दै शिक्षा पत्रकार समाज

१६ असोज, काठमाडौँ । शिक्षा पत्रकार समाजको नयाँ कार्यसमितिले नयाँ गतिका साथ काम थालेको छ । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार देवीप्रसाद सापकोटाको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्यसमितिले कार्यभार सम्हालेर कामलाई गति दिएको छ ।

अध्यक्षमा निर्वाचित सापकोटाले बुधबार दैनिकीसँग कुरा गर्दै शिक्षा विधामा कार्यरत सम्पूर्ण पत्रकारहरूको हकहितमा समाजले काम गर्ने बताउनुभयो । उहाँले शिक्षा विधामा कार्यरत पत्रकारहरूको साझा संस्थाको रूपमा समाजलाई अघि बढाउने बताउनुभयो । अध्यक्ष सापकोटाले दैनिकीसँग भन्नुभयो, ‘केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी शिक्षा क्षेत्रमा अनुसन्धानमुलक काम गर्नका लागि हामीले पाइला चालिसकेका छाैँ । हामी पत्रकारको हितको अलवा सम्पूर्ण शैक्षिक क्षेत्रको गतिशिलतामा योगदान गरी अघि बढ्दैछाैँ ।’

असोज २ गते काठमाडौँमा सम्पन्न भएको चौँथो साधारणसभाले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा मतिना त्वानावसु, महासचिवमा श्याम तण्डुकार, उपमहासचिवमा बालमुकुन्द आचार्य, सचिवमा लक्ष्मीप्रसाद ढकाल, कोषाध्यक्षमा यशोदा अधिकारी चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सुरेश यादव, सुनील आचार्य, विपिन पोखरेल, शर्मीला विश्वकर्मा, रमेश लामिछाने, पुष्पा अधिकारी निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष सापकोटालाई निवर्तमान अध्यक्ष प्रकाश सिलवालले औपचारिक रूपमा कार्यभार हस्तान्तरण गर्नुभएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार १९:१३