१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

१२ असोज, गोरखा । गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिनुभयो ।

‘‘पहिरोले सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको हो, उहाँले भन्नुभयो, ‘‘अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।’’

तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहेका पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो । पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बीचमै रोकिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार १३:००