१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्य मन्त्रीको घोषणा

२८ भदौ, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । शुक्रवार काठमाडौँको वीर अस्पतालमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ गर्दै उहाँले उक्त उपचारका लागि पनि सरकारले तत्काल १ लाख आर्थिक सहयोग उपलब्ध गराउने बताउनुभएको हो ।

सरकारले क्यान्सर, किड्नीलगायतका रोगका बिरामीलाई उपचारका लागि १ लाख उपलब्ध गराउँदै  आएको छ । साथै अब जलनका लागि पनि त्यो व्यवस्था तत्काल उपलब्ध गराउने मन्त्री पौडेलले बताउनुभयो ।

‘आम नागरिकले जलन उपचारका निम्ति सुविधा पाउने एउटा स्थिति वीर अस्पतालमा बनेको छ । खासगरी बाहिरबाट हेर्दा जलन उपचार नपाएर, उपचार गर्न नसकेर मृत्यु हुनेहरू पनि थुप्रै हुनुहुन्छ । यो एउटा एक्सिडेन्टल समस्या हो । यो जानेर हुने कुरा होइन । त्यसकारण हामीले मन्त्रालय सम्हाले देखिनै यो ८ वटा रोगमा राज्यले जुन सुविधा दिएको छ । यो नवौँ उपचार सुविधा पाउने अवस्था बनाउन हामीले निरन्तर प्रयास गरेका छौँ ’, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : September 13, 2024 at 2:53 pm