एसिड आक्रमण पीडितहरूको न्यायको लागि प्रतिबद्ध छौँ: सभापति लामिछाने
२५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएकाहरूका लागि कानुनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताउनुभएको छ ।
मंगलबार चौथो एसिड आक्रमणविरुद्धको अभियान दिवसका अवसरमा पीडित र सरोकारवालासँग छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो- ‘संसारका संसदहरुमा के छ थाहा छैन, तर संसारकै पहिलो दुर्लभ प्रतिनिधिसभा सांसदको रूपमा रास्वपाको प्रतिनिधित्व गर्दै बिन्दबासिनी कंसाकार आउनु भएको छ । यो कुरा सामान्य मात्र होइन, कानुनी उपचारको सुनिश्चितता गर्न एक एसिड आक्रमणबाट पीडित स्वयम कानुन बनाउने ठाउँमा पुगिसक्दा पनि जलन विधेयकलाई अगाडि बढाएर न्याय दिन नसके हामी सबैका लागि धिक्कार हुनेछ ।
एसिड पीडितको न्यायको लागि आफू प्रतिबद्ध रहेको पनि बताउनुभयो । एसिड पीडितले अनुभव गरेका तिता इतिहासहरू फेरी अरू कसैले भोग्न नपरोस् भन्नकै लागि जलनबाट पीडा भोग्नु परेका सबैको हक र अधिकारका लागि हामी लडिरहेका छौँ’, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : September 10, 2024 at 1:17 pm









