३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

चिकित्सकको दैनिक कार्यअवधि व्यवस्थित गर्न खोजेका छाैँ: मन्त्री पौडेल

२४ भदौ, चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताउनुभएको छ । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनशक्ति अभाव पूरा गर्न मन्त्रालयले गृहकार्य सुरु गरेको बताउनुभयो ।

सरकारी अस्पतालमा कम्तीमा तीन सय शय्या भएको अस्पतालमा एमबिबिएस र दुई सय शय्याका अस्पतालमा नर्सिङ् कक्षा सञ्चालन गर्ने तयारीमा सरकार रहेको मन्त्री पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको आवश्यकताका आधारमा न्यूनतम जनशक्ति पूरा गर्नेबारे मन्त्रालयले ओएनएम सर्भेका लागि प्रस्ताव गरेको छ ।” तत्कालका लागि ६ प्रदेशका एक÷एकवटा सङ्घीय अस्पतालमा न्यूनतम जनशक्ति पुर्याउने विषयमा गृहकार्य थालिएको उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीको समस्या समाधान गर्दै आफूले गरेका निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीसँग छलफल गरेर अघि बढ्ने र निर्णय कार्यान्वयनमा ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सकको दैनिक कार्यअवधि व्यवस्थित गर्न खोजेका छौँ, सार्वजनिक बिदाको दिन बहिरङग सेवा सञ्चालन गर्ने विषय भनेको शनिबार पनि भन्न खोजेको होइन । यस्ता बिदा वर्षमा २४ दिन हुन्छन् । ती दिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा लागेका छौँ ।”

मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिकित्सकको समय बढीभन्दा बढी लिएर सक्रिय बनाउन सकिन्छ भन्ने पक्षमा मन्त्रालय रहेको बताउनुभयो ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार १५:५२