१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो

१२ भदौ, धादिङ । नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो ।

स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशभित्रका स्वास्थ्य संस्थाको सुधारका लागि सुक्ष्म अध्ययन गरिरहेको, प्रदेशका सबै प्रादेशिक अस्पताल र सबै स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गरी सेवामा सुधार ल्याउने प्रयास भैराखेको बताउनुभयो । “विभिन्न कारणले महिलाको स्तनमा समस्या आउने अर्थात् क्यान्सर हुनसक्छ त्यसको पहिचान गर्नका लागि विशेष प्रकारको एक्स–रे प्रयोग गरिन्छ, जसलाई मेमोग्राम भनिन्छ”, अस्पतालका निमित्त अस्पताल निर्देशक डा गगन अधिकारीले भन्नुभयो, “रेडियोग्राफर टेक्नोलोजिष्टद्वारा स्तनको चित्र लिन सकिन्छ ।”

सेवा सुरु भएसँगै बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छभने डाक्टरले मेमोग्राम गर्न सुझाव दिने गर्दछन् । धादिङ अस्पतालमा पछिल्लो समय दैनिक चार सयभन्दा बढी सेवाग्राहीले सेवा लिदै आएका छन् ।

प्रकाशित मिति : August 28, 2024 at 10:54 am