जबजको कसीमा वर्तमान सरकार
-सरोजकुमार तामाङ
कम्युनिष्ट पार्टीसँग आफूले वकालत गर्ने समाज-व्यवस्था सम्बन्धी एउटा न्युनतम र अर्को अधिकतम कार्यक्रम हुन्छ । जनताको बहुदलीय जनवादलाई साम्यवादी नीतिहरूको प्रारम्भिक पथप्रदर्शक मान्ने नेकपा एमाले सर्वहारा श्नमजीवीवर्गहरूको क्रान्तिकारी पार्टीको रूपमा स्वयम् जबजले आफ्नो कार्यक्रमहरूमा व्यक्त गरिसकेको छ । त्यसैले, नेपाली जनवादी क्रान्तिलाई तार्किक निष्कर्षमा पुर्याउन नेकपा एमालेले जुन वर्गसंघर्षको बागडोर समालेको छ, त्यसको प्रारम्भिक स्वरूप सर्वहारा-समाजवादी नभएर पूँजीवादी-जनवादी क्रान्ति हो । यो किन पनि हो भने राष्ट्रवाद, जनवाद र जनजिविकाका सवालहरूमा अहिले हाम्रा समाजवादको उच्चतम उदेश्य प्राप्तिको क्रान्तिकारी मार्गमा सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवाद बाधक तत्वको रूपमा रहेको छ ।
जबसम्म समाजको उपल्लो राजकीय सत्ताबाट यी प्रतिक्रान्तिकारी तत्वहरूलाई च्युत गरिन्न, तबसम्म मुलुक र जनताको जीवनस्तरमा कहिकतै पनि व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तन गर्न सकिन्न । यी त भए हामीले अंगालेका सैद्धान्तिक पक्षहरू । यसैको आधारमा जबजलाई समाजवादको मार्गदर्शक सिद्धान्त मान्ने पार्टी नेकपा एमाले सत्तारोहणसँगै जनवादी क्रियाकलापहरू देखिदैँ आएका छन त ? यो हो विचार गर्नु पर्ने कुरा ।
जबजवादीहरूको सत्तारोहणसँगै अहिले राज्यका ती निकायहरू चलायमान भएका छन्, जसले दलाल नोकरशाही पूँजीवादीहरूलाई थप उर्जा मिलेको छ । दलाल नोकरशाही पूँजीपतिवर्गहरू सामन्तवाद र साम्राज्यवादका सहोदर भाईहरू हुन् । जस्तै: सेयर बजार, घरजग्गा व्यवसाय आदि इत्यादि जसले उत्पादनलाई होइन, अनुत्पादक क्षेत्रलाई बढवा दिँदै राज्य स्रोतसाधनको दुरूपयोग हुने र यसले विद्यमान समाजमा बेरोजगार समस्या अझ विकराल बनाउँदै त्यही समाजको पिंधमा बस्न बाध्य बनाउने सर्वहारा श्नमजीवीवर्गहरूको जीवनस्तर दयनीय बनाउनु हो ।
जुन दलले जबज अंगालेको छ र जुन जबजले नेकपा एमाले भनेको सर्वहारा श्नमजीवीवर्गहरूको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी भनेको छ, त्यो दलले राजकीय सत्ताको क्रममा लिने नीतिहरूले सर्वहारा श्नमजीवीवर्गहरूको दैनिकीमा परिवर्तन ल्याउन नीति निर्माणहरू गर्न सक्दैन् भने ती वर्गहरूले प्रश्न उठाउनु स्वाभाविक हो । अनि बचेखुचेको पूँजीपनि अनुत्पादक क्षेत्रहरूमा लगानी गर्दै जाने हो भने कसरी राष्ट्रिय पूँजीको निर्माण हुन्छ ?
कमसेकम देशभित्र देशकै पूँजीपतिवर्गहरूले संचालन गर्ने उद्योगधन्दाहरूमा लगानी हुने पूँजीहरूलाई सहुलियत गर, स्वदेशी कलकारखानाहरूलाई संचालन गर्न पूँजीको प्रवाह गर; यसले रोजगारीको सृजना गर्दै राष्ट्रिय पूँजीको निर्माण हुन्छ । यो नै पूँजीवादी-जनवादी क्रान्ति हो । यसको निम्ति अघि नै माथि उल्लेखित गरे झै राजकीय निकायहरूबाट दलाल पूँजीपतिवर्गहरूलाई लखेट्दै जनताको जनवादी व्यवस्था लागू गर्न शुरू गरौं । यो नै सर्वहारा-समाजवादी क्रान्ति नभएर पूँजीवादी-जनवादी क्रान्ति हो ।
अहिलेको तत्कालीन कार्यभार पुरा गर्न सम्पूर्ण जनवादी क्रान्तिकारी शक्तिहरू एक नभै सम्भव छैन् । त्यो भनेकै छरिएर रहेका कम्युनिष्ट घटकहरूको साथै अन्य सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादका विरोधी शक्तिहरूको एकता हो ।
अर्धसामन्ती र अर्धउपनिवेशी प्रवृत्तिको सामाजिक र राष्ट्रिय समस्याहरू विरुद्ध डटेर सामाना गरी पूँजीवादी-जनवादी क्रान्ति गर्न कमसेकम अहिलेको निम्ति हाम्रा न्युनतम कार्यक्रमहरूलाई नेपाली समाजमा लागू गर्न सबै प्रतिक्रान्तिकारी विरोधी शक्तिहरू एक हुनुको विकल्प छैन् । यो वर्तमान समयले मागेको तत्कालीन उद्देश्य नीति हो । विवेकवाद र प्रयोगवादको संयुक्त फ्युजनबाट मात्रै पूँजीवादी-जनवादी क्रान्ति पुरा हुनसक्छ भन्ने विश्लेषण वर्तमान राजनीतिक घटनाहरूले व्यक्त गरिसकेका छन् ।
प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार ११:०९