सभापति लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी‚ थप प्रमाण जुटाउँदै समिति
३ भदाै, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको बचत अपचलनबारे छानबिन गर्न तथा बयान लिनका लागि बनेको संसदीय विशेष समितिले बोलाउने तयारी गरेको छ । भदौ ७ गते समितिमा बोलाएर रबि लामिछानेसँग बयान लिने तयारी भइरहेको समितिका एक सदस्यले जानकारी दिनुभयाे ।
सभापति रवि लामीछानेसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको छ । यस्तै रोशनी गुरुङ र कुमार रम्तेलको बयानबाट पनि सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने समितिको तयारी रहेको वाहाँले बताउनुभयाे ।
‘विपिनले पनि कम्पनीको प्रबन्ध निर्देशक रवि लामीछाने भएपछि उहाँको हस्ताक्षर चल्ने हो भनेर बयान दिनुभयो‚’ ‘प्रमाणहरू सञ्चारमाध्यामहरूमा आएकै हुन्’, समितिका सदस्यले बताउनुभयाे ।
गोरखा मिडिया नेटवर्क सञ्चालित ग्यालेक्सी टेलिभिजनमा रवि लामिछाने प्रबन्ध निर्देशक र जीवी राई अध्यक्ष भएर काम गर्नुभएकाे थियाे । उक्त कार्यमा लामिछानेकै अनुसार वाहाँले कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिनुभएकाे थियाे । रवि सहकारी ठगीमा संलग्न रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् अवरोध गर्दै सूर्य थापाको नेतृत्वमा समिति गठन भएको थियो ।
प्रकाशित मिति : August 19, 2024 at 12:51 pm









