१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

जनवरी एकदेखि ‘टुरिजम स्याटेलाइट एकाउण्ट’ सुरू गर्ने प्रक्रिया पूराः मन्त्री अधिकारी

२८ मंसिर, काठमाडाैँ । पर्यटकीय तथ्याङ्कलाई व्यवस्थित एवं पारदर्शी बनाउन सरकारले आगामी १ जनवरी २०१८ देखि ‘टुरिजम स्याटेलाइट एकाउण्ट’ प्रणाली शुरु गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले स्याटेलाइट एकाउन्ट राख्न आवश्यक सबै प्रक्रिया पूरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले टुरिजम स्याटेलाइट एकाउन्टलाई अगाडि बढाएका छौं, यसले नेपाली पर्यटनको अहिलेको अवस्थालाई ठूलो परिवर्तन गर्छ ।”

सन् २०१८ को ११ महीना १० लाख विदेशी पर्यटक पुगेको अवसरमा पर्यटन बोर्डले आज साँझ आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले स्याटेलाइट एकाउन्टका लागि राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र केन्द्रीय तथ्याङ्क विभागसँग मिलेर काम अघि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रणाली सञ्चालनका लागि बजेटदेखि आवश्यक सबै प्रक्रिया पूरा भइसकेकोे छ ।”

मन्त्री अधिकारीका अनुसार तथ्याङ्क सही नभए गन्तब्य प्रवद्र्धन प्रभावकारी नहुने भएकाले सरकारले यो प्रणाली शुरु गर्न लागेको हो । यसअघि हवाई मार्गबाट आउने पर्यटकको मात्रै तथ्याङ्क राख्ने गरिएकोे थियो ।

टुरिजम स्याटेलाइट एकाउन्टमार्फत कुन नाकामार्फत कति पर्यटक भित्रिए भन्ने तथ्याङ्क राखिनेछ । उक्त स्याटेलाइटमार्फत पर्यटकले नेपालमा कति दिन बिताए र कति खर्च गरे भन्ने सम्मको विवरण राख्नेछ । यो प्रणाली विश्व पर्यटन सङ्गठनले सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकले गर्ने खर्च, पर्यटन उद्योगले कूल राष्ट्रिय र कूल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव, रोजगारी, लगानी, गैर बजेटरी प्रभाव तथ्याङ्कमा समावेश गर्नेछ ।

बोर्डका अनुसार सन् २०१७ मा नौ लाख ४० हजार २१८ हाराहारीमा विदेशी पर्यटक नेपाल आए भने सन् २०१८ को ११ महीनामा १० लाख एक हजार ९३० पर्यटकले नेपाल भ्रमण गरे । सन् २०१६ मा सात लाख ५३ हजार दुई जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटकको उत्साहजनक वृद्धिले पर्यटन क्षेत्रमा उत्साह जगाएको र यसले नेपाल भ्रमण वर्ष २०२० को लागि दरिलो जग बसाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो । रासस

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार २३:५१