३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

त्रिविमा सुधारको सङ्केत : परीक्षा भएको १०० दिनभित्रै नतिजा प्रकाशन गर्दै

२५ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले धमाधम नतिजा प्रकाशन गर्न थालेको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत जेठदेखि हालसम्म २५ वटा विषयको परीक्षाको नतिजा सार्वजनिक गरिएको बताउनुभयाे । पनिकाले अहिलेसम्म २५ विषयको तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गर्न सफल भएको हो । जसमध्ये २ विषयको नतिजा यसै महिनाभित्र आउने र एउटाको नतिजा भदौमा आउने वाहाँकाे भनाइ छ । 

त्यस्तै, साउन २ देखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक भइसकेको छ, भने ६ वटा विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजिनक भएको हो । पोलिटिकल साइन्सको नतिजा ११ दिनमै सार्वजनिक भएको छ, भने एमबीएस प्रथम वर्षको नतिजा परीक्षा सकिएको १० दिनमै सार्वजनिक भएको थियाे । एमए प्रथम वर्ष (पार्सियल) को नतिजा समेत परीक्षा सकिएको ४ दिनमै सार्वजनिक भएको छ ।

कसरी सम्भव भयो ?

नतिजाका लागि कर्मचारीहरूलाई केही थप सुविधा दिइएकाेले २ वर्षसम्म रोकिएका परीक्षा तथा नतिजा एकै वर्षमा सार्वजनिक गर्न सकिएको परीक्षा नियन्त्रक जोशीले बताउनुभयाे ।

अहिले नयाँ पदाधिकारीहरू आएपछि परीक्षामा काम गर्ने कर्मचारीलाई थप ४० प्रतिशत भत्ताको व्यवस्था गरिएको छ ।

परीक्षा पनि समयमै  

शिक्षाध्यक्षको कार्यालयले सूचना जारी गर्दा नै विद्यार्थी भर्नादेखि परीक्षा कहिले गराउने र नतिजा कहिले सार्वजनिक हुने भनेर स्पष्ट किटान गर्दै आएकोले पनिकालाई परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनमा सहज भएको छ । पनिकाले कर्मचारीको अभावका कारण नतिजा प्रकाशन गर्न ढिलाे भइरहेको रिपोर्ट निकालेकाे थियो । र त्रिविले उपलब्ध जनशक्तिलाई नै परिचालन गरेर नतिजा प्रकाशन गर्ने भन्दै थप सुविधाको व्यवस्था गरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार १२:५६