९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

बाढी हुलाकी सडकमा पसेपछि सवारी आवागमनमा समस्या

२३ साउन, बाँके । बाँकेको खजुरास्थित पेडारी नालामा आएको बाढी हुलाकी सडकमा पसेपछि सवारी साधन आवागमनमा समस्या भएको छ । वर्षाद्मा पानी पर्नासाथ पेडारी नालामा आउने बाढी नेपालगञ्ज–गुलरिया हुलाकी सडकबाटै बगेर वर्षेनी सर्वसाधारण नागरिकलाई पीडा दिने गरेको छ । खजुरा गाउँपालिकाको केन्द्र खजुरा बजारमै रहेको पेडारी नालामा रहेको पुलको निकास साँघुरो भएका कारण खोलामा आएको बाढी सडकबाट बगिरहेको स्थानीय अगुवा सतिश निरौलाले जानकारी दिनुभयो ।  “ठूलो बाढी आउनासाथ सडकबाटै बाढी बग्ने गरेका कारण लामो समयसम्म सवारी आवागमन ठप्प हुने गर्दछन्”,उहाँले भन्नुभयो,“वर्षातको समयमा मात्र चर्चामा आउने खोलाको चाप र पानीको सतह वृद्धि हुनासाथ साना सवारी साधन र पैदल यात्रीलाई आवतजावतमा सास्ती भएको छ ।”

निर्वाचनको बेला चुनावी ‘एजेण्डा’ बन्ने गरेको पेडारी नालाको पुल अरु बेला चर्चामै नआउने गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो,“पेडारीनालामा अचानक आउने बाढीले खजुरा क्षेत्र लगायत नेपालगञ्ज–गुलरिया सडकमा आवत जावत गर्ने सयौं सर्वसाधारण पीडित हुने गरेका छन् ।” खोलामा अचानक बाढी आउँदा आवतजावत गर्ने सवारी साधन र सर्वसाधारण यात्रुले दुःख पाउने गरेका छन् । सामान्य पानी सहजै बग्ने गरेपनि ठूलो बाढी आउँदा पुल साँघुरो भएका कारण खोला भरिएर वारीपारी सडकमाथिबाट बाढी बग्ने गरेको स्थानीय कृष्णबिक्रम केसीले बताउनुभयो ।

वर्षेनी सडक वारपार गर्ने मोटरसाइकल बगाएर दुर्घटना हुने गरेका छन् । वर्षादको समयमा खोलामा बाढी आएपछि नेपालगञ्ज आवत जावतमा कठिनाई हुने गरेको उहाँको भनाई छ ।  नेपालगञ्ज–गुलरिया हुलाकी चारलेन सडकमा पर्ने अन्य खोला नाला र कल्भर्ट विस्तार भईसकेपनि पेडारी खोलामा एकतर्फी गाडी सञ्चालन हुने जीर्ण पुल विस्तार हुन सकेको छैन । पुल विस्तार नहुँदासम्म वर्षाद्मा डुवानको समस्या कायमै रहने भएकोले जनताले सास्ती व्यहोर्नु परेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले बताउनुभयो ।  पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सतह बढ्नासाथ पानी सडक भएर बग्नेगरेको छ । अग्लो पुल निर्माणका लागि प्रक्रिया अघि बढेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १३:०३