१० असार २०८३, बुधबार | Wed Jun 24 2026

कैलालीका १५ नदीमा तटबन्ध निर्माण सम्पन्न

२२ साउन, कैलाली । कैलालीको चुरे भएर दक्षिणतिर बग्ने १५ नदीमा तटबन्ध निर्माण गरिएको छ । प्रदेश सरकारअन्तर्गत सात र सङ्घ ससर्त अनुदानबाट आठ गरी १५ नदीमा तटबन्धको काम सम्पन्न भएको हो ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको रु १८ करोड ९३ लाख बजेटबाट कटैनी गौरीगङ्गा, शिवगङ्गा, घुराहा, कान्द्रा, काँडा र ठूलीगाड गरी सात नदीमा कटान नियन्त्रण तथा रोकथाम गर्न ठेक्का सम्झौताद्वारा तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार गौरीगङ्गा नगरपालिकास्थित कटैनी नदीमा दुई सय ८०, गौरीगङ्गामा दुई सय ३०, शिवगङ्गामा एक सय ६५ र कैलालीको घुराहा नदीमा एक सय ५० गरी आठ सय २५ मिटरका लागि रु तीन करोडमा ठेक्का सम्झौताद्वारा तटबन्ध सम्पन्न भएको छ ।

घोडाघोडी नगरलालिकास्थित कान्द्रा नदीमा रु नौ करोड, बर्दगोरिगा गाउँपालिकाको काँडा नदीमा रु पाँच करोड र मोहन्याल गाउँपालिका–४ खिमडीस्थित ठूलीगाडमा रु एक करोड ९३ लाखको लागतमा तटबन्ध निर्माणको काम भएको डिभिजन कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी ललितबहादुर मालीले जानकारी दिनुभयो ।

यसैगरी गत आव २०८०÷८१ मा सङ्घक्ँे ससर्त अनुदानबाट रु दुई करोड २५ लाखमा आठ नदीमा उपभोक्ता समितिमार्फत नदी कटान तथा नियन्त्रणको काम सम्पन्न भएको सूचना अधिकारी मालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बर्दगोरिया–१ स्थित काँडानदीमा रु ४० लाख, कुइरा नदीमा रु ३० लाख, गौरीगङ्गा–४ स्थित खुरखुरिया नदीमा रु २५ लाख, लिक्मा नदीमा रु २५ लाख, कटैनीखोलामा रु २५ लाख, मोहन्यालको ताम्चा खोलामा रु २५ लाख, टीकापुर–८ सत्तीपुलदेखि दक्षिण श्रीलङ्का टोलमा रु २५ लाख र गोदावरी नगरपालिका–४ खैराना नदीमा रु ३० लाखको लागतमा तटबन्धको काम सम्पन्न भएको हो ।

प्रकाशित मिति : August 6, 2024 at 1:05 pm