नबिल बैंकले एकै वर्षमा कमायो ७ अर्ब नाफा, निक्षेप संकलन र कर्जा प्रवाहमा पनि बृद्धि
२१ साउन, काठमाडाैँ । नबिल बैंक लिमिटेडले एकै वर्षमा ७ अर्ब ६ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नबिल बैंकले नाफामै १०.२३ प्रतिशतले सुधार गरेको हो । ज्ञानेन्द्रप्रसाद ढुंगानाको नेतृत्वमा अघि बढीरहेको निबलले सोमबार प्रकाशन गरेको आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा निकै सुधार गरेको देखिन्छ ।
नबिलले अघिल्लो वर्ष पनि अर्ब ४० करोड ४९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बंगलादेश बैंक प्राप्तपछि नबिलको सूचकहरूमा नकारात्मकता हावी हुने अाम अनुमान गलत सावित गर्दै नबिलले बिजनेसमा पनि आक्रामक सुधार गरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ८५ करोड ७३ लाख ४४ हजार रुपैयाँ छ । यो वर्ष नबिलले दोहोरो अंकमा लाभांश दिन सक्ने हैसियत बनाएको छ । बैंकले गत आवको मुनाफाबाट यो वर्ष आफ्ना सेयरधनीहरुलाई १४.२६ प्रतिशत लाभांश दिन सक्ने हैसियत बनाएको हो ।
गत वर्ष बैंकको निक्षेप १६.४४ प्रतिशत बढेको देखिन्छ भने कर्जा प्रवाह १२.९४ प्रतिशत बढेको छ। गत वर्ष बैंकले कुल ४ खर्ब ६२ अर्ब ८ करोड ५९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कुल कर्जा लगानी भने ३ खर्ब ७३ अर्ब ९७ करोड ७५ लाख रुपैयाँ कायम भएको छ।
dainiki.com
नबिल बैंकको गत वर्षको सञ्चालन नाफा पनि ३.५१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २६ रुपैयाँ ०९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ १६ पैसा छ । बैंकले अघिल्लो आवको तुलनामा खराब कर्जा पनि घटाएको छ । हाल यस्तो कर्जा १.०७ प्रतिशत छ । तर, अघिल्लो आवमा भने बैंकसँग १.१८ प्रतिशत खराब कर्जा रहेको थियो ।
खुद नाफामा दोहोरो अंकले बढेता पनि बैंकको खुद ब्याज आम्दानीमा भने गिरावट देखिएको छ । गत वर्ष बैंकको यस्तो आम्दानी ८.६९ प्रतिशत घटेर १६ अर्ब २० करोड ७० लाख रुपैयाँ कायम भएको छ । हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने ३२ अर्ब ५१ करोड ९ लाख रुपैयाँ राखेको छ ।
प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०९:५२