२ मंसिर २०८१, आईतवार | Sun Nov 17 2024

बेलकोट भञ्ज्याङ माविका पूर्व अध्यक्ष शंकरप्रसाद पुडासैनीको निधन

१९ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १ को बेलकोट भञ्ज्याङ माविका पूर्व अध्यक्ष एवं सोही नगरपालिकाको चितमारे आधारभूत प्राविको संस्थापक प्रधानाध्यापक शंकरप्रसाद पुडासैनीको शुक्रबार ६१ वर्षको उमेरमा  निधन भएको छ ।

प्राणघातक अर्वुद (क्यान्सर) रोगसँग जुधिरहनुभएका पुडासैनीको भारत र नेपालको विभिन्न अस्पतालमा उपचार भएपनि बचाउन सम्भव नभएको परिवारका सदस्यले बताएका छन । पुडासैनीमा क्यान्सर रहेको कुरा चिकित्सकले दश महिनाअघिमात्र पत्ता लगाएका थिए ।

काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको निवासमै शुक्रबार राति निधन भएको उहाँकी छोरी अप्सरा पुडासैनी अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार राति ९ः४५ बजे पुडासैनीकाे निधन भएको थियो । पुडासैनीको परिवारका सदस्यको उपस्थितिमा शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पुडासैनीको श्रीमति, एक छोरा, तीन छोरी र आमा हुनुहुन्छ ।

२०२० साल साउन २० गते नुवाकोटकै बेलकोटमा जन्मिनुभएका पुडासैनी तत्कालीन बेलकोट गाविसको वडा नम्बर १ शेराको पहिलो माध्यामिक शिक्षा अध्ययन गर्ने विद्यार्थी समेत हुनुहुन्थ्याे । पुडासैनीले २०४१ सालमा चितमारे आधारभूत प्राविको संस्थापक प्रधानाध्यापक भएर ६ महिना काम गर्नुभएको थियो ।

स्वर्गीय पुडासैनी ।

पुडासैनी २०४९ सालमा सोही गाविसको वडा नम्बर ९ बाट नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका प्रत्यासी समेत हुनुहुन्थ्यो । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रियता पूर्वक सहभागी भएर योगदान गर्नुभएका उहाँले केही वर्षयता भने सो पार्टीबाट सन्यास लिनुभएको थियो । उहाँ पछिल्लो समय स्वतन्त्र नागरिकको रूपमा जीवनयापन गरिरहनुभएको थियो ।

२०५० सालमा बोलकोटगढी नगरपालिकाकै वडा नम्बर १ मा रहेको बेलकोट भज्याङ प्राविको विद्यालय व्यवस्थापन समिति र निर्माण समिति दुबैको अध्यक्ष भएर पुडासैनीले स्थानीयको सहयोगमा विद्यालयको स्तरोन्ती र स्थानान्तरण भएको सोही विद्यलयका पूर्व शिक्षक समेत रहनुभएका नेकपा एमालेका नेता नारायण खनालले जानकारी दिनुभयो ।

सोही विद्यालयलाई माध्यामिक विद्यालय बनाउनका लागि उत्कृष्ट चन्दादाता र २०६८ सालमा शिक्षक अभिभावक संघको अध्यक्ष भएर विद्यालय र त्यस भेगको शिक्षाको विकासका लागि पुडासैनीले महत्वपूर्ण योगदान गर्नुभएको खनालले बताउनुभयो ।

पुडासैनीले शेरासहित कुमरीमा सडक बाटो पुर्याउनका लागि समेत अगुवाइ गर्नुभएको थियो । पुडासैनीले गाउँका स्थानीयलाई कृषि कर्ममा उत्प्रेरित गर्दै कृषि उपज संकलन गरेर बजारसम्म लैजाने काम समेत गर्नुहुन्थ्यो । करिब ३९ वर्षसम्म (२०४१ साल देखि २०८० सालसम्म) कृषि उपजको संकलन गरी काठमाडौँ लैजाने र काठमाडौँबाट अन्य आवश्यक सामान गाउँमा ढुवानी गरी स्थानीयको सेवा गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार १५:४८