बागमती प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण
१८ साउन, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले आज यहाँ आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
पदभार ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्घीय सरकारले आफूलाई विश्वास गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएको बताउँदै उहाँले संवैधानिक दायराअनुसार इमान्दारीपूर्वक काम गर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय, सहकार्य गरेर कार्यसम्पादन गर्ने उल्लेख गर्नुभयो । सो अवसरमा बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले आफू रहँदा संवैधानिक निकायसँग समन्वय र सहकार्य गर्दै प्रदेश सरकार तथा स्थानीय तहसँग निरन्तर सम्पर्कमा रही सुशासन कायम राख्न काम गरेको बताउनुभयो ।
नवनियुक्त प्रदेश प्रमुख देवकोटालाई मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेशसभाका सभामुख भुवनकुमार पाठक र निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्माले स्वागत गर्नुभएको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश प्रमुख देवकोटालाई बिहीबार काठमाडौँमा पद तथा गोपनीयता शपथ ग्रहण गराउनुभएपछि आज पदभार सम्हाल्न हेटौँडा आइपुग्नुभएको हो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव गोविन्दबहादुर कार्की तथा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका अधिकृतहरुको उपस्थिति रहेको थियो ।
बागमती प्रदेशका निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई आजै नवनियुक्त प्रदेश प्रमुख देवकोटाले हार्दिकतापूर्वक बिदाइ गर्नुभएको छ ।
प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १७:१०