९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

पहिराेका कारण कालीगण्डकी करिडोर अवरुद्ध

८ साउन, काठमाडौँ । अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको  वर्षाले करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । अहिले वर्षा भइरहेको हुँदा पहिरो पन्छाउन समस्या भएको उहाँले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । जैमिनीका किसानले दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउँदै आएकामा सडक अवरुद्ध हुँदा समस्यामा परेका छन् ।
प्रमुख निउरेले भन्नुभयो, “हिजो साँझदेखि ठूलो वर्षा भइरहेको हुँदा पहिराले सडक छेउबाट भासिएको छ, पहिले पनि यही ठाउँमा सडक भासिदा लामो समय अवरुद्ध भएको थियो, अहिले पनि सोही ठाउँमा सडक बगाएको छ, अहिले वर्षा भइरहेको हुँदा खुलाउने सम्भावना छैन, वर्षा रोकियो भने बल्ल खुलाउने प्रयास गर्ने छौँ ।”

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुल्यो

गए रातिदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध बनेको पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड खुलेको छ । कुश्मा नगरपालिका–७ र ८ को सिमानास्थित तमादीखोलामा आएको लेदोसहितको बाढीले सडक अवरुद्ध बनेको थियो । सुरक्षाकर्मी र लोकमार्गको स्काभेटर प्रयोग गरी लेदो पन्छाएपछि सडक सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सीताराम ओझाले जानकारी दिनुभयो ।

सडक सञ्चालन भएसँगै रातिदेखि अलपत्र बनेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक अवरुद्ध हुँदा धवलागिरि क्षेत्रमा आएका सवारीसाधन चुवामा र यस क्षेत्रबाट बाहिरिने सवारीसाधन खरेहामा अलपत्र बनेका थिए ।

वर्षा अझै रोकिएको छैन । जल तथा मौसम विज्ञान विभागको वर्षा मापन केन्द्रको तथ्याङ्कानुसार पर्वतको कार्कीनेटामा सबैभन्दा बढी ८५ दशमलव छ मिलीमिटर वर्षा भएको छ । अत्यधिक वर्षाका कारण जिल्लाको जनजीवन प्रभावित बनेको  भने अधिकांश ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 23, 2024 at 10:56 am