गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू, बुद्ध एयरको जहाज भने धावनमार्गमै
२८ असार, काठमाडौँ । बिहीबारदेखि अवरूद्ध भएको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरू हुन थालेका छन् । बिहीबारको राति ९ बजेर ४० मिनेटमा बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा चिप्लिएपछि अरू जहाजहरू पनि विमानस्थलमा अवतरणका साथै उडान हुन सकेका थिएनन् ।
यधपी, शुक्रबार साढे १० बजेदेखि विमानस्थलबाट तीन वटा जहाजले उडान भरेका हुन्। बिहीबार साँझ काठमाडौंबाट भैरहवा आएका तीन वटा जहाज काठमाडौंका लागि उडान गरेको विमानस्थलका अधिकृत विनोदसिंह रावतले जानकारी दिए ।
भैरहवाबाट उडान गरे पनि अवतरण भने अझै हुन नसकेको तर बिहीबार राति नै यहाँ आएका बुद्ध एयरका दुई वटा र एउटा यती एयरको जहाज भने काडमाडौंका लागि उडिसकेका रावतले बताए । ठूलो धावनमार्ग भएका कारण चिप्लिएको बुद्ध एयरको जहाजको पखेँटाले धावनमार्ग छोए पनि न्यारोबडीका जहाज अवतरण गर्न सक्ने उनको भनाइ छ ।
विमानमा रहेका सबै यात्रु सकुशल अवतरण गरे पनि विमानको अगाडिको भाग भने घाँसे मैदानमा भासिएकाले उक्त भासिएको विमान निकाल्दा थप क्षति नहोस् भन्ने हिसाबले नेपाल वायुसेवा निगम र विमानस्थलका प्राविधिकहरूले प्रयास गरिरहेका विमानस्थलका अधिकृत रावतले जानकारी दिए ।
प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १२:४९