क्याप्टेन सम्राटबहादुर शाहविरूद्धको भ्रष्टाचार मुद्दा खारेज
२७ असार, काठमाडौँ । नेपाल एयरलाइन्समा कार्यरत क्याप्टेन सम्राटबहादुर शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान अयोगले विशेष अदालतमा दायर गरेको मुद्दा खारेज भएको छ। बिहीबार विशेष अदालतका न्यायाधीशहरू डा खुशीप्रसाद थारू, तेजनारायण सिंह राइ र मुरारीबाबु श्रेष्ठको इजलाशले हद म्याद नाघेको भन्दै मुद्दा नै खारेज गरिदिएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०८० सालको पुस १९ गते शाहको विरूद्धमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । २०७३ सालको जेठ ५ मा शाहको विरूद्धमा आयोगमा उजुरी परेको थियो । क्याप्टेन शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको ठहर आयोगले २०७६ सालको मंसिर २४ मा गरेको थियो ।
अख्तियारको हदम्यादका कारण नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका, घुस खाएका, राजस्व छलेका, गलत लिखत तयार गरेका, गैरकानूनी सम्पत्ति आर्जन गरेका सार्वजनिक पदाधिकारीमाथि पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने थियो तर शाहको हकमा त्यसो नभएकोले विशेषले मुद्दा नै खारेज गरिदिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमा सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि उजुरी परेको पाँच वर्षभित्र अनुसन्धान गरेर मुद्दा चलाउनुपर्ने व्यवस्था रहेको छ । शाहको हकमा उजुरी परेर पनि लामो समय अनुसन्धान त्यतिकै राखेर म्याद गुज्रेपछि मुद्दा दर्ता भएको थियो । हदम्यादको अवधि ‘जानकारी भएको मितिले’ पाँच वर्षको हुने भनिएको छ ।
प्रकाशित मिति : July 11, 2024 at 6:00 pm









