२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

१९ वडाका आमाहरुलाई कानुनी ज्ञान दिने तुलसीपुर मेट्रो कलेजको अभियान

१७ असार, काठमाडौँ । दाङ तुलसीपुर उपमहानगरपालिका–९ का हीरा जैसी घरायसी काममा नै धेरै व्यस्त हुनुपर्छ । उहाँको दैनिकी चुलोचौकोसँगै भैँसी पाल्ने, घास काट्नेजस्ता काममै बित्ने गर्छ । “हामी सधैँ चुलोचौकोमै सीमित भयौँ, तर, अब यसरी सीमित हुने छैनौँ”, उहाँले भन्नुभयो, “गाउँमा कसैलाई अप्ठेरो परेपछि पनि न्यायिक निकायमा गएर न्यायकालागि आवाज उठाउने छौँ । ”

त्यस्तै तुलसीपुर–७ का टीकाकुमारी गौतम पनि कानुनी ज्ञान पाएपछि गाउँमा कसैलाई अप्ठेरो पर्दा न्यायको ढोका ढकढक्याउन जान सक्ने भएको बताउनुहुन्छ । उहाँले आँखै अगाडि महिला हिंसा, घरेलु हिंसा हुने गरेको भए पनि सहेर बस्नुपर्ने अवस्था रहेको जनाउँदै अब त्यसो हुन नदिने बताउनुहुन्छ । “आँखै अगाडि कति हिंसा हुने गर्छन्”, उहाँले भन्नुभयो “अब हामीले त्यसको प्रतिवाद गर्न सक्ने भएका छौँ ।”

दाङ तुलसीपुर उपमहानगरपालिकाद्वारा सञ्चालित कानुनी साक्षरता सम्बन्धी जानकारी आमाहरुलाई दिएपछि उनीहरु यसरी सचेत हुन थालेका हुन् । तुलसीपुरका १९ वडाका एक हजार बढी आमाहरुलाई कानुनी ज्ञान दिएको मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले बताउनुभयो । आमा साक्षरता अभियानअन्तर्गत आमाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका कानुनी कुराहरु सिकाइएको उहाँको भनाइ छ ।

घरेलु हिंसा हुँदा कसरी न्याय माग्ने, न्याय माग्न कहाँ जाने, स्थानीय न्यायिक समितिको भूमिकालगायतका विषयमा जानकारी दिइएको उहाँको भनाइ छ । “महिलाहरुमा कानुनी ज्ञान नहुँदा घरेलु हिंसा खेपिरहनुपरेको छ”, उहाँले भन्नुभयो, “यसलाई न्यूनीकरण गर्न पनि यो कार्यक्रम सञ्चालन गरिएको हो ।” कलेजको सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्यक्रम चलेको हो ।

आमाहरुलाई अधिवक्ता विजय पोख्रेल र सुष्मा केसीले कानुनी ज्ञान दिनुभएको थियो । सबै वडामा पुगेर यो कार्यक्रम सञ्चालन गरिएको हो । कलेजमा कानुन विषय अध्ययनरत विद्यार्थीले पनि उक्त ज्ञान दिनुभएको थियो । कलेजमा कानुनमा स्नातक (विएएलएलबी) अध्यापन भइरहेको छ ।

प्रकाशित मिति : July 1, 2024 at 10:20 am