नेपालको पर्यटन प्रवर्द्धनका लागि थाइल्याण्डमा अभियान चल्दै
१५ असार, काठमाडाैँ । थाइल्याण्डमा नेपालको पर्यटन प्रवर्द्धन अभियानलाई निरन्तरता दिँदै शनिबार नेपाली दूतावासले थाइल्याण्डको पर्यटकीय सहर फुकेटको होटल रामादा प्लाजामा ‘एक्सपेरियन्स नेपालः लुम्बिनीदेखि हिमालयन ब्लिस’ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ ।
नेपाल दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल वायुसेवा निगम (एनए), नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए)को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सीज (नारा), नेपाल र थाइल्याण्डबाट १८ वटा ट्राभल/टूर कम्पनी, थाइल्याण्डका ३५ ट्राभल/टूर कम्पनी, व्यापारी उद्यमी, सञ्चारकर्मी, गैरआवासीय नेपाली संघ, थाइल्याण्ड र थाइल्याण्डका प्रतिनिधिहरु गरी जम्मा ५३ वटा टुर एण्ड ट्राभल कम्पनीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा थाई अधिकारीहरूबाट फुकेट प्रान्तका डेपुटी-गभर्नर सुविथ सुरियावोङ र फुकेट ट्राभल एजेन्ट्स एसोसिएसन (PTAA) का अध्यक्ष सिरीकोर्न बुन्यासिरी पनि उपस्थित थिए। कार्यक्रममा थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले नेपाल र थाइल्याण्डबीचको पर्यटन क्षेत्रका व्यवसायिक अवसरका बारेमा प्रकाश पारेका थिए ।
नेपालले थाई आगन्तुकहरूलाई भगवान बुद्धको जन्मस्थल लुम्बिनी, राजर्षि महाराजा जनकको राजधानी जनकपुरदेखि हिमालय सम्मको यत्राको अवसर प्रदान गर्दै अाएको छ । उनले संस्कृति र प्रकृति प्रेमी, तीर्थयात्रा, साहसिक, मनोरञ्जन, खेलकुद, जङ्गल सफारी लगायतका सबै किसिमका पर्यटकका लागि नेपाल सबै मौसमी गन्तव्य भएको प्रष्ट पारे ।


प्रकाशित मिति : June 30, 2024 at 4:04 pm









