५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

बाँकेमा ४ हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाए

१२ असार, काठमाडौँ । डिभिजन वन कार्यालय बाँकेले चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनाइएका २७ घरटहरा हटाएको छ । नरैनापुर र राप्ती सोनारी गाउँपालिकामा अतिक्रमित वनक्षेत्रमा निर्मित घरटहरा हटाइएका हुन् ।

डिभिजनल वन कार्यालयका अधिकृत अजीतकुमार कर्णका अनुसार, राप्ती सोनारी–७ मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वनक्षेत्र अतिक्रमण गरी बनाइएका १३ घरटहरा तथा राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरा हटाइएको हो ।

नरैनापुर–६ स्थित दुर्गामाता सामुदायिक वनमा अतिक्रमण गरी निर्माण गरिएका सात घरटहरासमेत हटाइएको छ । राप्ती सोनारी–७ स्थित मण्डफवा सामुदायिक वन उपभोक्ता समूहमा करिब तीन हेक्टर वनक्षेत्र अतिक्रमणमा संलग्न १३ जनामाथि मुद्दा चलाइएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिनुभयो । अन्य वनक्षेत्रको अतिक्रमण हटाउने काम भइरहेको उहाँले बताउनुभयो ।

राप्ती सोनारी–९ ढकेरीमा विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर हाइटेक नर्सरी निर्माणकार्य भइरहेको छ । हाइटेक नर्सरीमा बिरुवा उत्पादन गरिने शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो । शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयअन्तर्गत राप्ती सोनारी–२ कचनापुर, वडा नं ६ फत्तेपुर र वडा नंं ८ महादेवपुरीमा बाढीपीडितका नाममा वनक्षेत्र अतिक्रमण गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : June 26, 2024 at 10:24 am