११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

राससद्वारा प्रदर्शित तस्बिरबाट विकासको तीव्रता झल्किएको छ : अभिनेता हमाल

१० असार, काठमाडौँ । अभिनेता राजेश हमालले राष्ट्रिय समाचार समिति (रासस) ले सधैँ सत्य तथ्य समाचार सम्प्रेषण गर्दैआएको बताउनुभएको छ ।

राससले केन्द्रीय कार्यालय भद्रकालीमा गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको अवलोकनपछि संक्षिप्त प्रतिक्रिया दिँदै अभिनेता हमालले राससद्वारा प्रदर्शित तस्बिरबाट विकासको तीव्रता झल्किएको पाएको उल्लेख गर्नुभयो ।

“विकास सधैँ अविरल पक्ष हो । जहाँ समय सापेक्ष परिवर्तन भइरहन्छ । निश्चित कालखण्डमा भौतिक विकासलाई विकासको मान्यता दिइन्छ भने त्यही विकासपछि नहुनसक्छ । त्यसैले विकासका बहुआयामिक पक्षको आत्मसाथ गर्दै देशको उन्नतितर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो । आगामी दिनमा राससले यस्तै सकरात्मक र ऊर्जावान भाव पैदा गर्ने क्रियाकलाप गर्दै जाने अभिनेता हमालले विश्वास व्यक्त गर्नुभयो ।

अभिनेता हमाल रासस आउनु हुँदा उहाँलाई कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराउनुभएको थियो । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी परिचालन, छिमेकी तथा अन्य मित्रराष्ट्रसमेतको सहयोगमा निर्मित एवं निर्माणाधीन राष्ट्रिय तथा प्रादेशिक गौरवका आयोजनासँग सम्बन्धित तस्बिर समावेश छन् ।

विसं २०७२ को ‘गोरखा भूकम्प’बाट भत्किएको संरचनाको पुनःनिर्माण, मानवीय विकास, शिक्षा, स्वास्थ्य, उद्योग, सडक, सिँचाइ, खानेपानी, विद्युत् उत्पादनलगायत विषयमा राससबाट विभिन्न समयमा सम्प्रेषित ९५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । राससले गत वर्ष गणतन्त्र दिवसका अवसरमा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी गरेको थियो ।

प्रकाशित मिति : June 24, 2024 at 4:51 pm