१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

११ महिनामा नेपालकाे व्यापार घाटा १३ खर्ब १४ अर्ब, भारतसँग मात्र ८ खर्ब बढीकाे घाटा

७ असार, काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा मुलुकले रु १३ खर्ब १४ अर्ब ४४ करोड बराबर व्यापार घाटा ब्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले रु १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाखको आयात गर्दा रु एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख बराबरको मात्रै निर्यात गरेको हो ।

विभागका अनुसार ११ महिनामा नेपालले कूल रु १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा गरेको कूल वैदेशिक व्यापारको तुलनामा यो एक दशमलव ९५ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०७९/८० को जेठ महिनासम्ममा कूल रु १६ खर्ब २४ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा आयात एक दशमलव ८४, निर्यात तीन दशमलव एक र वैदेशिक व्यापार घाटा एक दशमलव ७२ प्रतिशतले घटेको हो ।

जेठ मसान्तसम्ममा नेपालले भारतसँग मात्र रु आठ खर्ब १३ अर्ब ७८ करोड २९ लाख बराबर व्यापारघाटा व्यहोरेको छ । भारतसँग रु नौ खर्ब आठ अर्ब २९ करोड ९२ लाखको आयात हुँदा रु ९४ अर्ब ५१ करोड बराबरको मात्रै निर्यात भएको छ । अर्को छिमेकी मुलुक चीनसँग ११ महिना अवधिमा रु दुई खर्ब ७० अर्ब ४० करोड व्यापार घाटा देखिएको छ । चीनबाट रु दुई खर्ब ७२ अर्ब ८१ करोड को आयात हुँदा रु दुई अर्ब ४० करोड ९८ लाख बराबर निर्यात देखिएको हो । बढी व्यापार घाटा देखिएका मुलुकको सूचीमा युनाइटेड अरब इमिरेट्स तेस्रो नम्बरमा छ । युएईसँग रु २८ अर्ब ४८ करोड २५ लाखको आयात र रु दुई अर्ब ४२ करोड ८३ लाखको निर्यात हुँदा कूल रु २६ अर्ब पाँच करोड ४२ लाख बराबरको व्यापार घाटा देखिएको हो ।

नेपालको वैदेशिक व्यापारमा सबैभन्दा नाफा अफगानिस्तानसँग देखिएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा अफगानिस्तानबाट रु एक करोड १६ लाख ९० हजार बराबरको आयात हुँदा रु ४० करोड ३४ लाख ९७ हजार बराबर निर्यात भएको छ । अर्थात् नेपालले अफगानिस्तानसँगको व्यापारमा रु ३९ करोड १८ लाख सात हजार बराबर फाइदा गरेको छ । त्यस्तै, नर्वे, सुडान, आइसल्यान्ड, मौरिससलगायतका मुलुकसँगको व्यापारमा पनि नाफा देखिएको छ ।

प्रकाशित मिति : June 21, 2024 at 7:13 pm