१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौतमबुद्ध विमानस्थलमा निजी एयरलायन्सलाई ग्राउण्ड ह्याण्डलिङको अनुमति दिइन्छ: पर्यटनमन्त्री तामाङ


१६ जेठ, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्री हित बहादुर तामाङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निजी एयरलायन्सलाई ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति दिने बताउनुभएको छ । मन्त्री तामाङले हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमर्सियल ग्राउण्ड ह्याण्डलिंग सेवा प्रदान गर्न अनुमति पाएको नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिंग सेवालाई निरन्तरता दिदै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवा सञ्चालन संस्थाहरु (एयरलायन्सहरुले) यस विमानस्थललाई सञ्चालन आधार (operating Base) बनाई नियमित उडान सेवा शुरु गरेमा उनीहरुलाई सो अनुमति दिइने बताउनुभएको छ ।

शनिबार अठोट नेपालले नेपाल पर्यटन बोर्डको सभाहलमा ( 2nd National Tourism Convention and Photography Competition 2024) आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री तामाङले सो कुरा बताउनुभएको हो । उहाँले वायुसेवा सञ्चालन संस्थालाई व्यवसायिक ग्राउण्ड ह्याण्डलिंग सेवा प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५.२ बमोजिम प्रक्रिया शुरू गर्न प्राधिकरणलाई निर्देशन दिइएको बताउनुभयो ।

यस अघि नेपाल वायुसेवा निगमले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कमर्सियल ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त गरेको थियो । अब अन्तर्राष्ट्रिय उडानका लागि अनुमति प्राप्त अन्य नेपाली वायुसेवा सञ्चालन संस्थाहरु (एयरलायन्सहरुले) यस विमानस्थललाई सञ्चालन आधार (operating Base) बनाई नियमित उडान सेवा शुरु गरेमा उनीहरुलाई पनि कमर्सियल ग्राउण्ड ह्याण्डलिंग (भूमिस्थ प्रबन्ध सेवा) गर्ने अनुमति प्राप्त हुनेछ । बायुसेवा निगमले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियस्तरको भूमिस्थ प्रबन्ध सेवा दिँदै आएको छ ।

मन्त्री तामाङले फोटो प्रदर्शनीमार्फत पर्यटन प्रवर्द्धन गर्ने कार्य एकदमै प्रसंशनीय रहेको बताउनुहुँदै नेपालमा पर्यटनको क्षेत्रमा सम्भावना र अबसर अत्यधिक रहेकाले बिभिन्न माध्यमबाट अझ यसको प्रचारप्रसार गर्न आबस्यक रहेको औल्याउनुभयो । उहाँले फोटोग्राफिमार्फत नेपालको पर्यटन गन्तब्यहरुको प्रबद्धन गर्न यसले सहयोग पुर्याउने बिश्वास व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रमा देखिएको समस्या हटाउन सरकार लागिरहेको बताउँदै उहाँले निजी क्षेत्रको सहकार्यमा मात्र त्यो सम्भव हुने दावी गर्नुभएको छ ।

मन्त्री तामाङले पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस क्षेत्रमा अहिले पर्यटन व्यवसायीले भोगेको समस्या पर्यटन क्षेत्रको अनावस्यक भ्याट र करलगायत सुधार नगर्ने हो भने र नेपालमा आउने पर्यटकका लागि आगमन सहज र सरल नगर्ने हो भने पर्यटन क्षेत्रमा लक्ष्य अनुरुप फसलता पाउन कठिन हुने बताउनुहुँदै सरकार त्यसका लागि काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो नेपाल सबै क्षेत्रमा सुन्दर छ तर पर्यटन क्षेत्रले देशको जिडीपीमा सोचेजस्तो योगदान दिन सकेको छैन ।

नेपालमा अधिकतम बिदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजी गरि पुर्वाधार बिकाससहित सरकार नयाँ योजनासहित अघि बढेको उहाँले बताउनुभयो। बिभिन्न देशका राजदुतहरुले आफुसंग भेट गर्दा बिदेशमा आन्तरिक र बाह्य पर्यटकका लागि होटलमा समान मुल्यमा सेवा दिने गरेको तर नेपालमा आन्तरिक र बाह्य पर्यटकका लागि होटलमा विभेद गरिएको गुनासो गरेको भन्दै उनले त्यस समस्याको पहिचान गरि समाधानको बाटो खोजिने बताउनुभएको छ । अर्को प्रसंगमा मन्त्री तामाङले पशुपतिमा आउने दर्शनार्थीहरुका लागि निशुल्क भोजनको व्यवस्था गर्ने तयारी सरकारले गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार १५:१४