दोदा नदीमा आठ बर्षपछि पक्की पुल निर्माण सुरू
१८ जेठ, काठमाडाैँ । कञ्चनपुरको दोदा नदीमा करिब आठ बर्षपछि पक्की पुल निर्माण सुरू भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर तारानाथ सिग्देलले अहिले पुल निर्माणले गति लिएको बताए ।
यहाँको लालझाडी गाउँपालिकास्थित देखतभुलीनजिक दोदा नदीमा पुल निर्माणका लागि विसं २०७२ पुसमा रु २४ करोड २२ लाखमा निर्माण सम्झौता भएको थियो तर पुल निर्माणका क्रममा ‘पाइल टेष्ट’मा समस्या आएपछि निर्माणकार्य अगाडि बढ्न सकेको थिएन ।
सिग्देलले पुल निर्माणका लागि लुम्बिनी–राजेन्द्र–कुमार श्रेष्ठ जेभीले ठेक्का पाएपछि सुरुआतमा राजेन्द्र निर्माण सेवाले काम गरेको थियो । त्यसक्रममा पिल्लर खडा गरे पनि प्राविधिक समस्या देखिएपछि सोही स्थानमा नयाँ पुल निर्माण गर्नुपरेको इन्जिनियर सिग्देलले बताए । “राजेन्द्रसित काम रिजेक्ट भएपछि अहिले जेभी पार्टनर कुमारले काम धमाधम गरिरहेको छ”, उनले भने, “राजेन्द्रले लिएको रु १२ करोड पनि बैंक धरौटीबाट असुल गरिएको छ ।”
लालझाडी गाउँपालिकालाई जोड्ने उक्त पुलको ‘स्पान’ लम्बाइ दुई सय मिटर रहेको छ । “अब पुल निर्माणको कामले गति पाएको छ”, उनले भने, “हामीले पनि म्याद थपका लागि माथिल्लो निकायमा पुर्याइसकेका छौँ ।” उनले ‘पाइल टेष्ट’मा समस्या आएर नयाँ डिजाइनअनुसार पुल बनिरहेको जानकारी दिए । वर्षौंसम्म पुल नबनेपछि स्थानीयले बाँसको अस्थायी पुल बनाएर शुक्ल तिरेर ओहोरदोहोर गर्ने गरेका थिए ।
प्रकाशित मिति : May 31, 2024 at 4:58 pm









