१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एडिलेडमा मनाइयो `अन्तर्राष्ट्रिय एभरेष्ट डे ´


एडिलेड । नेपाली समुदायिक संस्थाहरुको संगठन फेड्रेसन अफ नेप्लिज कम्युनिटी एशोशियसन अफ अष्ट्रेलिया(फेन्का)को साउथ अष्ट्रेलिया समितिको आयोजनामा पदयात्राको आयोजना गरि `अन्तर्राष्ट्रिय एभरेष्ट डे´ मनाइएको छ ।

स्थानिय नर्मन वर्क मिच्यामबाट शुरु भएको पदयात्रा करिव एक घण्टाको यात्रा पछि सोहि पार्कमा आएर समापन भएको थियो । पदयात्रा समापन पछि आयोजित सभालाई नेपाली समुदायका अगुवा सहित विभिन्न व्यक्तिहरुले एभरेष्ट डे को महत्व र फेन्काका गतिविधी बारेमा चर्चा गरेका थिए ।

साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले सगरमाथाको आरोहण मात्र नभएर दृश्यावलोकनका लागि पनि नेपाल जान सकिने बिषयमा प्रचार गर्न सके एभरेष्ट डे मनाउनुले सार्थकता पाउन सक्ने बताए ।

कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्काले सगरमाथालाई विश्वमा चिनाउदै, प्रदुषण लगायतका कारणले हिमालहरु माथी परेका प्रभाव वारेमा समेत सचेत गराउन आग्रह गरिन् ।

त्यसै गरि म्यारिन काउन्सिलकी काउन्सिलर रेनुका लामा, एनआरएनए ओशियाना सह संयोजक गोकुल घिमिरे, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले एभरेष्ट डे को महत्व माथी प्रकाश पारेका थिए ।

कार्यक्रमको सभापति तथा फेन्का अष्ट्रेलियाका महासचिव कपिल पाण्डेले फेन्काको स्थापना र गतिविधि वारेमा चर्चा गरेका थिए ।

फेन्का साउथ अष्ट्रेलिया संयोजक सुरेन्द्र रेग्मीको संचालनमा भएको कार्यक्रममा गत मे १८ र २९ मा एडिलेड नेपाली विद्यालय र नेपाली पाठशालामा आयोजित सगरमाथा सम्बन्धी चित्रकला प्रतियोगिताका  विजयी बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । जसमा उमेर १० बर्ष मुनी उमेर समुहमा प्रथम – निधि रिमाल, दोस्रो – रिया शर्मा, उमेर -१० बर्ष माथी समुह प्रथम – बाटिका सापकोटा र सुमांश रेग्मी, दोस्रो – अलाईजा आचार्य भएका थिए ।

कार्यक्रममा सगरमाथाका वारेमा खुल्ला हाजिरीजवाफ प्रतियोगिता समेत संचालन गरिएको थियो । जसको संचालन एडिलेड नेपालका अध्यक्ष  पुस्कर कोइरालाले गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार २०:३२