३ असार २०८१, सोमबार | Mon Jun 17 2024

चार जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित


१४ जेठ, काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा मनोज कुमार केसी र राजन अधिकारी रहनुभएको छ ।

साथै नेपाल सरकार गृह मन्त्रालय ९सचिवस्तर० को २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताउनुभयो । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको गौरव र गरिमालाई नयाँ आयाम र उचाईमा पुर्‍याउन पदीय हैसियतले निर्वाह गरेको भूमिका सदैव मूल्याङ्कन हुने भएकोले सकारात्मक उर्जा, मेहेनत लगन र ईमान्दारिताका साथ सांगठानिक विकासमा जुट्न र विशिष्टकृत ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीबाट सम्पादित काम, प्रदर्शित व्यावसायिकता र निर्वाह गरेको भूमिकाप्रति समाज र नगारिकले चासो र महत्वकोसाथ हेर्ने गरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “प्रहरी संगठनलाई जनमुखी, पारदर्शी र निर्विकल्प अंगको रूपमा स्थापित गराउन हामी सबैको साझा चिन्तन, क्रियाशीलता र पदीय दायित्व अनुरूपको जिम्मेवारी वहन पनि त्यतिकै आवश्यक रहेको छ ।”

प्रहरी महानिरीक्षक कुँवरले संगठनको वृहत्तर हितको कुरा गर्दा पद वा व्यक्ति गौण हुने र संगठनले दिएको जिम्मेवारी प्रमुख हुन आउने चर्चा गर्दै इमान्दारीपूर्वक संगठनको हितमा समर्पित रहनु लक्ष्य प्राप्तिको आधार हो भन्ने कुरामा जोड दिनुभयो । संगठनका कुनै सदस्यहरूबाट प्रदर्शित गैरव्यावसायिकताका कारण सिंगो नेपाल प्रहरी संगठन लज्जित हुनुपर्ने अवस्था देखा परेमा कुनै हालतमा सहनयोग्य नहुने विचार उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोखरेलले राज्य र संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा गम्भीर भएर पूरा गर्ने बताउनुभयो । प्रचलित ऐन, कानुन, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको उद्देश्य प्राप्ति र श्रीवृद्धिमा समर्पित भई त्रुटीरहित तरिकाले काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १८:२८