३ असार २०८१, सोमबार | Mon Jun 17 2024

विद्युत् कटौतीमा समस्या, दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत् आपूर्ति हुँदै


१४ जेठ, काठमाडाैँ । औद्योगिक नगरी बारा र पर्सामा विद्युत्काे माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ ।

बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत् आपूर्ति हुँदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत् झ्याप्प–झ्याप्प जाने समस्या देखिएको हो ।

नेपाल विद्युत्  प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युत्काे माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउछ । “बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युत् काे माग छ”, उनले भने, “रक्सौल–परवानीपुर एक सय ३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत् भारतबाट आयात हुँदै आएको छ । अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ ।”

प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत् उपलब्द गराउँदै आएको बताए । बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युत् काे माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उनको भनाइ छ ।

प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ । “कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ”, उनले भने । उक्त समस्या एक महिनाभित्र समाधान हुने प्रमुख बताउछ । वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक रहेका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार ११:०३