३ असार २०८१, सोमबार | Mon Jun 17 2024

महानगरले नै गेटमा फोहर फालेपछि सडक डिभिजन तनावमा


१३ जेठ, काठमाडाैँ । काठमाण्डौं महानगरपालिककाले सडक डिभिजन काठमाण्डौंको कार्यालयको गेटमा कार्यालय परिसर छिर्न समेत अवरोध हुनेगरी फोहोर फालिदिएपछि कार्यालयका अधिकारी तनावमा परेका छन । कार्यालयका सूचना अधिकारीले विज्ञप्ति नै जारी गरेर अापत्ति जनाएका छन । सडक कार्यालयले महानगरपालिकाले कानुनी राज्यको उपहास गरेको बताएको छ ।

सूचना अधिकारीको नाममा जारी विज्ञप्ति भनिएको छ, ‘काठमाण्डौं जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।’

उक्त विज्ञप्तीमा उल्लेख भए अनुसार गत शुक्रबार काठमाण्डौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह तथा सो डिभिजनका डिभिजन प्रमुख नारायणदत्त भण्डारीबीच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको कार्यालयले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको समेत जानकारी गराईन्छ । आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विना अनुमती सडक काटी सडकको ‘स्ट्याण्डर्ड’ चौडाई घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमती सडक काटेर साघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाईएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार ०८:१७