२ असार २०८१, आईतवार | Mon Jun 17 2024

नेपाल टेलिकमले पाटन र सैंवुमा सुरु गर्यो एफटीटीएच सेवा


११ जेठ, काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूर्ण रुपमा स्तरोन्नति गरेको छ ।

कपर प्रविधिको पुुरानो जे–र्याक एक्सचेन्जको क्षमता करिव ३६ हजार रहेको थियो । हाल पाटन कार्यालयमा एफटीटीएच नेटवर्कको लागि जडान रहेको ओएलटीको क्षमता ५३ हजार ४ सय र सक्रिय ग्राहक २० हजार भन्दा बढी रहेका छन् । त्यसैगरी दूरसञ्चार कार्यालय, सैंवुमा ३ हजार भन्दा बढी ग्राहक छन् ।

शुक्रबार आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाल टेलिकम पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि भित्र्याउने लक्ष्य प्राप्तिमा लागेको बताइ्न । पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गर्ने कार्य कम्पनीको प्रगतिको कदम भएको उल्लेख गरिन् । सो कार्यका लागि अथक प्रयास र प्रयत्न गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद समेत दिइ्रन ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत तथा प्रमुख प्राविधिक अधिकृत झविन्द्र लाल उपाध्याय, बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र दूरसञ्चार कार्यालय, पाटनका कार्यालय प्रमुख निरज न्यौपाने लगायतले बोलेका थिए । कम्पनीले समयक्रम अनुसार नयाँ प्रविधि अवलम्बन गर्ने क्रममा कम्पनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका पुरानो प्रविधि विस्थापित गरिरहेको बताएका थिए । उनीहरुले कम्पनीले आधुनिक प्रविधिलाई सदैव आत्मसात गर्ने कार्यलाई जारी राख्ने जानकारी गराए ।

एफटीटीएच प्रविधि अन्तर्गतको एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन् । टेलिकमले देशभर रहेका पुरानो कपर प्रविधिलाई विस्थापन गर्ने कार्यलाई जारी राखेको छ । यो कार्य नियमित रुपमा भइरहको छ र केही समय पछि देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुनेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १९:३१