१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र

९ जेठ, काठमाडौँ । गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ । मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सबै जिल्लाहरूमा परिपत्र गर्दै लूबाट जोगाउने उपायका बारेमा सर्वसाधारणमा सचेतना फैलाउन निर्देशन दिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेका अनुसार गर्मी हुने जिल्लाहरूका लागि मङ्गलबार साँझ नै परिपत्र पठाइसकिएको जानकारी दिनुभयो ।

उहाँले लूसम्बन्धी सन्देश उत्पादन र प्रसारणबारे तराई–मधेसका जिल्ला प्रशासन कार्यालयहरूलाई आवश्यक निर्देशन दिइएको बताउनुभयो । परिपत्रमा सचेतनामूलक सामग्री उत्पादन गरी आफ्ना आधिकारिक वेबसाइट एवं सामाजिक सञ्जालमार्फत प्रकाशन र प्रसारण गर्न, उपयुक्त सन्देशको उत्पादन र प्रसारणमा स्थानीय एफएम र टेलिभिजनसँग सहकार्य गर्न, रेडियो, टेलिभिजनको सामाजिक सञ्जाल वा अनलाइनमार्फत पनि प्रचारप्रसारमा जोड दिन भनिएको छ ।

सन्देश बनाउँदा स्थानीय भाषा, स्थानीय कलाकार, स्थानीय लवज, स्थानीय पहिरन तथा आधिकारिक निकायका व्यक्तिलाई प्रयोग गर्न पनि भनिएको छ । एउटा सन्देश रेडियोको हकमा एक मिनेट र भिडियो हो भने दुई मिनेटभन्दा लामो नबनाउन, स्थानीय परिवेशअनुसार महत्त्वपूर्ण लागेका सन्देश धेरै जनालाई माध्यम बनाएर उत्पादन र प्रसारण गर्न, विपद् व्यवस्थापनमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाको सहायता लिएर उनीहरु स्वयंको सामाजिक सञ्जाल र प्रसारण माध्यमबाट पनि प्रचारप्रसार गर्न लगाउन पनि निर्देशन गरिएको छ ।

स्थानीय सञ्चारमाध्यममा दैनिक÷साप्ताहिक÷अर्धमासिक रूपमा बनाइरहेका कार्यक्रममा यी सन्देश प्रसारण गर्ने व्यवस्था मिलाउन पनि सबै जिल्लालाई परिपत्र पठाइएको प्राधिकरणले जनाएको छ ।

’लू’ र यसबाट बच्ने उपाय

गर्मी मौसममा असामान्य रुपमा अत्यधिक तापक्रम बढी तातो हावा चलेको अवस्थालाई तातो हावाको लहर वा ‘लू’ भनिन्छ । यो खासगरी देशको तराई क्षेत्रमा धेरै गर्मीको दिन तातो हावाको लहर ‘लू’ चल्न सक्छ । यसले स्वास्थ्यमा असर गर्छ । कहिलेकाहीँ मृत्युसमेत हुनसक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शरीरमा कस्तो असर देखिन सक्छ ?

चिकित्सकका अनुसार थकान र कमजोरी महसुस हुने, चक्कर लाग्ने, बेस्सरी टाउको दुखे, वाकवाकी लाग्ने, हातगोडा बाउँडिने । हातगोडा वा अनुहार सुन्निने र बेहोस हुने हुन्छ । यस्तै मुटुको धड्कन बढ्ने, छाला सुक्खा र रातो हुने, पिसाबको रङ पहेँलो हुने, श्वास फेर्न गाह्रो हुने र रक्तचाप हुने हुन्छ ।

एक सय चार डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आई बिरामी बेहोस हुने वा कोमाको लक्षण देखिने र पछि बिरामीको ज्यानसमेत जान सक्ने हुन्छ ।

लू लागेमा के गर्ने ?

लू लागेको व्यक्तिलाई शीतल ठाउँमा लाने, शरीरभित्र सजिलै हावा छिर्ने गरी लुगा खुकुलो बनाइदिनुपर्ने हुन्छ । बिरामी होसमा भएमा पानी वा झोलिलो खानेकुरा दिने तर कफी, चिनीको मात्रा धेरै भएको पेय पदार्थ, जाँड रक्सी नदिने, पङ्खाले हम्कने, भिजेको चिसो कपडाले निधार, हत्केला, गोडा, पैतालामा पानीपट्टी लगाइदिने गर्नुपर्छ । यस्तै बिरामीलाई गाह्रो भएजस्तो लागेमा नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजान भनिएको छ ।

आफू र अरुलाई कसरी जोगाउने ?

चर्को घाम लागेको बेला सकभर घर बाहिर ननिस्कने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको ढाक्ने, खेतबारी वा बाहिरको काम बिहान वा दिउँसो ४ बजेपछि मात्रै गर्ने, चर्को घाममा नहिँड्ने वा काम गर्ने परे शीतल हुनेगरी बेलाबेला आराम गर्ने, प्रशस्त मात्रामा पानी पिउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउने गर्नुपर्छ ।

पत्रु खाना (जङ्कफुड) नखाने, घरमै बनाएको ताजा खानेकुरा खाने, घरमा शीतल हुनेगरी पर्दा, पङ्खा, सिलिङ र झ्यालढोकाको प्रबन्ध गर्ने गर्नुपर्छ । यस्तै आफ्ना छोराछोरीलाई माथि भनिएका उपाय अपनाउन लगाउने, दिउँसोको चर्को घामम खेल्न जान नदिने, लूका कारण गाह्रो भएमा तुरुन्तै नजिकैको अस्पताल वा स्वास्थ्य संस्था लैजाने, ज्येष्ठ नागरिक र मुटु, फोक्सो, मिर्गौला रोग भएकालाई लूले छिटो असर गर्ने भएकाले उनीहरुलाई माथि भनिएका जोगिने उपाय सिकाउनुपर्छ । ।

प्रकाशित मिति : May 22, 2024 at 11:10 am