९ असार २०८२, सोमबार | Mon Jun 23 2025

भादगाउँ निवासी एककाे पसलमा आगलागी

७ जेठ, काठमाडाैँ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ निवासी बादल आले मगर मस्त निन्द्रामा थियाे । आज बिहान १ः२० बजे मोबाइल बज्यो, मध्यरातमा फोन आएपछि केही भयो की भनेर उठाउँदै गर्दा दमौलीका मोहम्मद अजिजले भने, “दाई पसलमा आगलागी भयो । छिट्टै आउनुपर्‍यो ।”

व्यास नगरपालिका–३ मुख्यचोकमा रहेको पसलमा पुग्दा दनदनी जलिरहेको थियो । त्यो दृश्य हेर्नुबाहेक अर्को उपाय रहेन । उनले आँखै अगाडि पसलका सबै सामान जलेर खरानी भएका हेर्नुपर्यो ।

आज बिहान १२ः४० देखि सुरु भएको आगलागीले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको सो पसलसँगै २० भन्दा बढी पसल जले । त्यहाँ आइसक्रिम, मोबाइल, फलफूल लगायतका पसल रहेका थिए ।

कोरोना र आर्थिक सङ्कटपछि बल्ल तङ्ग्रिदै गरेको व्यवसाय आगोले खरानी भएपछि आलेकोे वर्षौदेखिको लगानी समेत जलेको छ । उनले भने, “कोरोना कहर र आर्थिक सङ्कटले व्यवसायी मारमा थियौँ, त्यसबाट उठ्न खोजिरहेका बेला फेरि प्रकृतिले ठग्यो । पसलमा रहेका करिब रु एक करोडका र अन्य सामग्री जलेर सबै खरानी भए । बाँकी केही रहेन ।”

व्यवसाय गरेरै घरपरिवार चलाउँदै आएको बताउँदै आलेले उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग आग्रह गरे । उनले भने, “व्यवसाय नै मुख्य पेशा हो । यही पेशाबाट घरपरिवार चलेको थियो । त्यही खरानी भएपछि अब के गरेर खानु !”

सोही ठाउँमा पसल सञ्चालन गर्दै आएकाे कपिल पौडेलले आगलागीबाट सबै सामग्री जलेर नष्ट भएको बताए । उनले भने, “कसरी आगलागी भयो, केही थाहा पाउन सकिएन । सामान झिक्ने समय नै भएन ।” जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले विद्युत् चुहिएर आगलागी भएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले आगलागीका पीडितलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । जिल्ला संयोजक विश्व बास्तोलाले आज प्रेस विज्ञप्ती जारी गरी पीडितलाई उचित राहतका लागि आग्रह गरे ।

तनहुँ उद्योग वाणिज्य सङ्घ अध्यक्ष वैकुण्ठनाथ मिश्र र र तनहुँ उद्योग वाणिज्य सङ्घ बजार इकाइ सभापति सुकनारायण मल्लले विज्ञप्ति जारी गरी आगलागीबाट नष्ट भएका संरचना पुनर्निर्माण गरी व्यवसाय सञ्चालनमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १७:५२