२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी बेच्ने उमेश मुडभरीसहित २ जना पक्राउ

६ जेठ, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरेको अभियोगमा दुईजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा बर्मा देश घर भई हाल काठमाडौँ महानगरपालिका–२२ बस्ने २२ वर्षीय तुसार अग्रवाल तथा न्युरोडमा पसल रहेका उमेश मुडभरी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले भने, “काठमाडौँ महानगरपालिका–२२ स्थित मुकुन्द्र श्रेष्ठको घरगोदाममा डेल कम्पनीको लोगो सादा मनिटरमा लेबलिङ गरी कम्प्युटर मनिटर बेचबिखन गरिरहेको सूचनाका आधारमा हाम्रो टोलीले तुसार अग्रवाल र उमेश मुडभरीलाई पक्राउ गरेको हो ।” पक्राउ परेका मुडभरी काठमाडौँको न्युरोडमा पसल सञ्चालन गर्ने व्यक्ति रहेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

प्रहरीले तुसार अग्रवालको गोदमबाट कम्पनीको लोगोसहित ५० थान तथा लोगोबिनाको एक सय ८५ गरी कूल दुई सय ३५ थान एवं मुडभरीबाट न्युरोड पसलमा बेचबिखनका लागि राखिएको कम्पनीको लोगोसहितको ६ थान मनिटर बरामद गरिएको प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले बताए ।

प्रकाशित मिति : May 19, 2024 at 10:25 pm