चुराेटमा ३३ प्रतिशत मात्र कर लगाइयाे भनेर भ्रम फैल्याएकाेमा संघकाे गम्भीर ध्यानाकर्षण
६ जेठ, काठमाडाैं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले विगत केही दिनदेखि ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोटप्रति सरकार किन उदार ?’ भन्ने व्यहोराको सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केही समयदेखि नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशत मात्र छ भन्ने कुराको सन्देश दिन खोजिएको भन्दै संघले विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।
संघले चुरोटमा ३३ प्रतिशत मात्र कर लगाइको भन्ने सूचना भ्रामक रहेको दाबी गरेको छ । नेपाल सरकारको कूल राजस्वमा सूर्तिजन्य उद्योगको चार प्रतिशतभन्दा बढी योगदान रहेको भन्दै सरकारको राजस्व नीतिमा प्रभाव पार्ने उद्देश्यले नियोजित रूपमा भइरहेको प्रचारको भ्रममा नपर्न संघले आग्रह गरेको छ ।
नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू संकलन गरिने उल्लेख गर्दै संघले चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको जनाएको छ।
संघका उपाध्यक्ष नवल किशोर चौधरीद्वारा जारी विज्ञप्तिमा तथ्यहिन एवं भ्रामक सूचनाबाट नीति निर्मातालाई प्रभावित पार्न खोज्नु भनेको उद्योगहरूले पुर्याएको योगदानलाई नजरन्दाज गर्नु मात्र नभएर स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैर कानूनी वस्तुहरूलाई प्रोत्साहन गर्नु र निहीत स्वार्थका लागि राज्यलाई गुमराहमा राख्नु भएको ठहर गरिएको छ।
संघले सरकारले मिथ्याङ्कका आधारमा नभएर वास्तविक तथ्याङ्क कै आधारमा नीति निर्माण गर्ने र यस्ता मिथ्याङ्कबाट प्रभावित नहुनेमा आफूहरू विश्वस्त रहेको संघको भनाइ छ।
यस्ताे छ संघकाे विज्ञप्तीः
प्रकाशित मिति : ६ जेष्ठ २०८१, आईतवार ११:०१