१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दुई दशकदेखि बेपत्ता मोरङको शमशेर घर फर्किए


३ जेठ, काठमाडाैँ । दुई दशकदेखि बेपत्ता मोरङको बेलबारी नगरपालिका–११ का शमशेरबहादुर कटुवाल घर फर्किएको छ । स्थानीय तहको सक्रियतामा उनलाई घर फर्काइएको हो । शमशेरबहादुर फर्किएपछि कटुवाल परिवारमा खुसियाली छाएको छ ।

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित वडा कार्यालयमा ६६ वर्षीय कटुवाललाई सोमबार स्थानीय तहका जनप्रतिनिधिले उनको परिवारको जिम्मा लगाएको छ । कटुवाल भोजपुरको जरायोटारबाट विसं २०६१ मा बेपत्ता भएको थियो । “श्रीमान् भेटिए भन्ने कल्पना नै गरेकी थिइन, उनि जिउँदो होला भन्ने आश मरिसकेको थियो”, शमशेरबहादुरकी श्रीमती सीताले भनिन् ।

शमशेरबहादुर र सीताको विसं २०५० मा विवाह भएको थियो । दुवै जनाबाट छ सन्तान जन्मिए । “कान्छो छोरो १० महिनाको हुँदा श्रीमान् बेपत्ता भएकाे, म एक्लैले छ सन्तान हुर्काएँ”, सीताले भनिन् । यसबीचमा परिवारको साथ नपाएपछि उनि माइतीको सहारामा झापाको केचना हुँदै हाल बेलबारीमा बस्दै आएकी  छिन् ।

शमशेरबहादुर बोल्न सक्दैन र घाँटीको क्यान्सर रोगबाट पीडित भएकाे छ । आर्थिक अवस्था कमजोर भएकाले उनको उपचार के कसरी गर्ने भन्नेबारे कटुवाल परिवार चिन्तित छ । कटुवालको उपचार गराउन  सहयोग जुटाउन थालेको स्थानीय लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतम बताउछन् ।

बिरामी भएपछि कटुवाल सम्पर्कमा आएको हो । धेरै मेहनतपछि उनलाई घर फिर्ता ल्याउन सकिएको वडाध्यक्ष विक्रम राईले बताए । “कटुवाललाई क्यान्सरबाट मुक्त गर्न सहयोग जुटाउने काम भइरहेको छ”, उनले भने ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १५:४८