१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जलवायु परिवर्तनको सङ्कट समाधानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्णः सञ्चारमन्त्री शर्मा


३ जेठ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनले सिर्जना गरेको सङ्कटबाट बच्न तथा खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी छिन् ।

सञ्चारिका समूह नेपालले आज आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भ पारेर ‘विश्वका लागि प्रेस र वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ विषयक अन्तरक्रियामा उनले जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यमले सूचना र शिक्षा दुवै क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताएकी हुन् ।

उनले भनिन्, “विपद्पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषणलगायतमा सञ्चारमाध्यमले भूमिका बढाउनुपर्ने बेला आएको छ । जोखिमको ज्ञान र जोखिमको अनुगमन तथा तथ्याङ्क विश्लेषण, जोखिमको सूचना प्रवाह, क्षमता अभिवृद्धि र प्रतिकार्यमा केन्द्रित भएर आमनागरिकलाई सचेत बनाउने कार्यमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहन्छ ।”

उनले अझै विपद् जोखिमका पूर्वसूचना र जोखिम विश्लेषण गुणात्मकरुपमा बढाउँदै हिन्दुकुश हिमालय क्षेत्रमा हुने घटनालाई विश्वव्यापी बनाउने सवाललाई सञ्चारमाध्यमले पनि महत्वपूर्ण एजेण्डा बनाउनुपर्ने बताइन् । उनले जलवायु परिवर्तनले सिर्जना गर्ने लैङ्गिक विभेदको सवालमा पनि सञ्चार क्षेत्र गम्भीर बन्न आवश्यक रहेको बताउँदै विभेदमा परेका समुदायलाई सरकारले सम्बोधन गर्ने नीति लिएको बताइन् ।

उनले भनिन्, “जलवायु परिवर्तन ठूलो चुनौतीका रुपमा देखा परेको छ । यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो । जलवायु परिवर्तनका कारण अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपद्का घटना बर्सेनि बढ्दै गएका छन्, जसबाट जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको छ ।”

सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवाले जलवायु परिवर्तनले विश्वभर संकट सिर्जना भइरहेकोमा महिलाहरु बढी प्रभावित भइरहेको बताइन् । उनले आउने पुस्तालाई राम्रो प्रकृति अवस्था छोडेर जान सक्नुपर्ने बताइन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले वातावरणीय प्रभावका विषय प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भने, “हाम्रो आफ्नो जीवनशैलीले पनि प्राकृतिक विपद् निम्तिएका छन् । वातावरणलाई जबसम्म मिडियाले विषयवस्तु ठान्दैन तबसम्म यसको सम्बोधन हुँदैन ।”

इन्टरनेशनल अलर्ट राष्ट्रिय निर्देशक रविना श्रेष्ठले वातावरणीय प्रभाव न्यूनीकरणमा सञ्चारमाध्यम पनि उल्लेखनीय भूमिका रहे बताइन् । उनले नेपाल जोखियमुक्त देश भएको र यसको न्यूनीकरणका लागि सबै पक्षबाट लाग्नुपर्नेसँगै आममानसमा जनचेतना बढाउन आवश्यक रहेको बताइन् ।

यस वर्ष नेपालसहित विश्वभरि नै ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा मनाइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १३:४९